काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु (एच१एन१) भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा प्रमुख गेब्रिएससले अहिले कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ।’

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लुबाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो। तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आँकलन गरेको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो। सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो।

त्यसैले स्वाइन फ्लुभन्दा खतरनाक कोरोना संक्रमण रोक्न प्रभावकारी भ्याक्सिन विकास गर्न अनिवार्य प्रमुख डा. गेब्रिएससले बताए। भ्याक्सिन नबनेसम्म यो संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने पनि उनले स्पष्ट पारे।

यद्यपि विश्वका विभिन्न देशमा यो भाइरसविरुद्धको भ्याक्सिन तथा औषधि विकासमा वैज्ञानिकहरु लागिपरेका छन्। कतै विकसित औषधिमाथि ट्रायल पनि भइरहेको छ। तर अझैसम्म ठोस नतिजा निस्किएको छैन। 

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा पहिलोपटक यो भाइरस देखिएको थियो। चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ। 

कोरोनाबाट झन्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ। – एजेन्सी