काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले रणनीति परिवर्तन गरेको छ ।  

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यसअघि सरकारले संक्रमणलाई फैलने नदिने र रोक्ने रणनीति लिएकोमा त्यसलाई अब परिवर्तन गरी पहिचान, परीक्षण र उपचारको रणनीति अपनाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः जोखिमयुक्त हुँदै गएको, संक्रमणको दर बढ्दै गएका कारण सरकारले यसअघि अबलम्बन गरिरहेको रणनीति परिवर्तनको निर्णय गरिएको हो । 

‘यसअघि भित्रिनै नदिने रणनीति थियो, त्यो संभव नभएपछि अब परीक्षणलाई व्यापक बनाउने, संभावित संक्रमितको पहिचान गर्ने र ती सबैलाई चाँडोभन्दा चाँडो प्रभावकारी ढंगले उपचारको व्यवस्था मिलाउने रणनीतिका साथ काम गर्ने निर्णय भएको हो ।’ बिडारीले भने–‘यही रणनीति अनुसार काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी लगायत मातहतका निकाय लगायतलाई निर्देशन दिने समेत निर्णय भएको छ ।’ 

चीनबाट सामान ल्याइने
यसैबीच, उच्चस्तरीय समितिको बैठकले औषधि तथा औषधिजन्य सामान तथा उपकरण निजी क्षेत्रबाट आयात गर्ने काममा राज्यले सहजीकरण गर्ने, स्वास्थ्य मन्त्रालय अन्तरगतको खरीदारीलाई कायमै राख्ने र जी टू जीको प्रक्रियालाई समेत अगाडि बढाउने निर्णय भएकोमा बुधबार चीनबाट सामाग्री ल्याउने विषय लगभग टुंग्याएको समेत बिडारीले बताए । 

‘आजै परराष्ट्र मन्त्रालयको सहजीकरणमा स्वास्थ्य मन्त्रालय र चीनको सम्बन्धित कम्पनीका प्रतिनिधिसँग तीन चरणको भिडियो कन्फरेन्स समेत भयो । यो क्रममा स्वास्थ्यको टिमले तत्काल आयात गर्नुपर्ने सामानको सूचि, मूल्य लगायतको विषय टुंगो लगाएको छ ।’ बिडारीले भने–‘यो विषयका सबै कुरा आजै फाइनल हुन्छ ।’

आपूर्ति सहज, लकडाउनमा कडाई
यसैबीच, आजको बैठकले देशभरको आपूर्ति व्यवस्थालाई सहज बनाउने र लकडाउनलाई अझ कडाई गर्ने निर्णय समेत गरेको छ । यस्तै, भन्सार नाकामा ढुवानी आयातको कामलाई सहज र सुरक्षित गराउने निर्णय समेत भएको छ । 

सरकारले सुरक्षाकर्मीहरुलाई लकडाउन उल्लंघन गर्नेहरुमाथि संक्रामक रोग ऐनअनुसार कारबाही गर्न समेत निर्देशन दिएको छ । 

सरकारले अब संभावित संक्रमितको स्वास्थ्य परीक्षणको कामलाई तीव्रता दिने योजना अनुसार निजी क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई समेत परिचालन गर्ने निर्णय समेत गरेको छ । 

यसैबीच, सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई आवश्यक उपकरण तथा स्वास्थ्य सामाग्री तत्काल उपलब्ध गराउने, त्रिभुवन विश्वविद्यालयमा रहेको एउटा पीसीआर मेसिन २ नम्बर प्रदेशलाई दिने निर्णय समेत गरेको छ । 

उडान ३० अप्रीलसम्म स्थगित
यसैबीच, बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा अप्रील ३० सम्म नै बन्देज लगाउने निर्णय गरेको छ । 

यसैगरी, उच्चस्तरीय समितिले यूएन एजेन्सीबाट अनुरोध आएको उल्लेख गर्दै अफगानिस्तानस्थित यूएन अन्तरगत कार्यरत नेपाली नागरिकहरुलाई उपयुक्त पद्धतिबाट फिर्ता बोलाउने निर्णय समेत गरेको सचिव बिडारीले जानकारी दिए ।