काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण फैलिने डरले यतिबेला विश्वबजारमा दैनिक कारोबार नगदभन्दा पनि विद्युतीय माध्यमबाट गरिनुपर्ने चर्चा हुन थालेको छ।

कारोबार गर्दा नगदका रुपमा प्रयोग हुने नोटमार्फत यो भाइरसको संक्रमण फैलिने सम्भाव प्रबल रहेको भन्दै विभिन्न देशमा नगद कारोबारमा रोक लगाउने निर्णयसमेत हुन थालेको छ। ती देशमा अबदेखि दैनिक रुपमा घरासयी किनमेल, रेस्टुराँ, सिनेमा घर वा अन्य कुनै सेवा लिँदा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने नियम लागू गर्न लागिएको छ। 

सीएनएनका अनुसार दक्षिण कोरियाको केन्द्रीय बैंकले गत शुक्रबारदेखि बजारमा छरिएका नोट (पैसा)हरु दुई साताभित्र संकलन गर्न थालेको छ। तीमध्ये केही नोटहरु जलाएर सम्भावित कारोनाभाइरस नष्ट गर्ने काम पनि उसले सुरु गरिसकेको छ। 

चीनले पनि सार्वसाधारणहरुले प्रयोग गरेका नोटहरुबाट संक्रमण हटाउन अल्ट्राभोइलेट लाइट र उच्च तापमान राख्न सुरु गरिसकेको छ। चीनले केही नोटहरु जलाएर नष्ट गरेको छ। 

त्यसो चीनमा यसअघि नै नगद कारोबारलाई हतोत्साहित गरिसकेको छ। चीनका करिब ५० प्रतिशत जनसंख्याले यो भाइरस फैलिनुअघिदेखि नै नगद कारोबार छोडी डिजिटल पेमेन्ट गर्न थालिसकेका छन्। 

उता फ्रान्सको राजधानी पेरिस्थित लोभ्रे म्युजियमले पनि नगद प्रयोगमा रोक लगाएको छ। उसले आफ्ना कर्मचारीको सुरक्षाका लागि म्युजियममा आउने सेवाग्राहीबाट क्रेडिट कार्डबाट भुक्तानी लिन सुरु गरेको छ। 

महामारीका रुपमा फैलिएको कोरोना रोकथामका लागि अमेरिकाले पनि मोबाइल पेमेन्ट्स विकल्पका रुपमा अगाडि सारेको सीएनएनले जनाएको छ। 

अहिले विश्वबजारमा डिजिटल पेमेन्टका रुपमा एप्पल पे, सामसुङ पेस र गुगल पेस प्रचलित छन्। उपभोक्ताले आफ्नो स्मार्टफोन र स्मार्टवाचका माध्यमबाट सामान वा सेवा खरिद गर्दा रकम भुक्तानी गर्न सक्छन्। – एजेन्सी