काठमाण्डौ। कोरोना संकटका बीच विश्वका झन्डै १२ करोड बालबालिका दादुरा र रुबेलाजस्ता रोगविरुद्धको अत्यावश्यक खोपबाट वञ्चित भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ३७ देशका ११ करोड ७० लाखभन्दा बढी बालबालिका दादुरा र रुबेलाविरुद्धको खोपबाट वञ्चित भएको जनाएको हो। कोरोनाका कारण लकडाउन हुँदा २४ देशमा खोप कार्यक्रम पूर्ण रुपमा स्थगित छ भने १३ देशमा खोप कार्यक्रम प्रभावित भइरहेको छ। 

दादुरा तथा रुबेलाजस्ता बिरामीसँग लड्न क्रियाशील संस्था मिजेल्स एन्ड रुबेला इनिसिएटिभ (एम एन्ड आरआई) ले संयुक्त बयान जारी गर्दै कोरोना संकटका बीच पनि दादुरा र रुबेलाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको जनाएको छ। ‘जहाँ कोरोनाको प्रभाव अत्याधिक छ, त्यहाँ केही दिनका लागि यी रोगविरुद्धको खोप कार्यक्रम स्थगित गर्न सकिन्छ तर पूर्ण रुपमा रोक्न भने हुँदैन’, वक्तव्यमा भनिएको छ। 

दादुरा भाइरसबाटै हुने संक्रामक रोग हो। दादुराविरुद्धको खोप कार्यक्रम सन् १९६३ बाट सुरु भएको हो। पहिले यसको महामारी लगभग हरेक २–३ वर्षमा हुन्थ्यो। 

यसले विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई आफ्नो चपेटामा पार्छ। सन् २०१८ मा दादुराबाट विश्वमा १ लाख ४० हजार बालबालिकाको ज्यान गएको थियो। – एजेन्सी