काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ कोरोना संक्रमितमुक्त बनेको छ ।
देशका अन्य क्षेत्रहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा काठमाण्डौमा भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।
यस्तै, अन्य जिल्लामा भेटिएर काठमाण्डौमा उपचार गराइरहेका संक्रमित समेत निको भएर घर फर्किएका छन् । यसरी संघीय राजधानी काठमाण्डौ बिहीबारदेखि कोरोना संक्रमितमुक्त क्षेत्र बन्न पुगेको छ ।
काठमाण्डौको टेकूस्थित अस्पतालमा आइसोलेसनमा रही उपचार गराइरहेकी देशकै दोश्रो कोरोना संक्रमित एकसाताअघि डिस्चार्ज भएकी थिइन् । त्यसपछि धादिङबाट ल्याइएका अर्का संक्रमित समेत निको भई घर फर्किसकेका छन् ।
यही क्रममा काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा फेला परेका दुई संक्रमित समेत निको भएर बिहीबार डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
बिहीबार डिस्चार्ज हुनेमा ८१ वर्षीया वृद्धा र उनका ५८ वर्षीय छोरा रहेका छन् । हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये सबैभन्दा पाको उमेरकी ८१ वर्षीया वृद्धाले कोरोनामाथि जित हासिल गरेकी हुन् ।
काठमाण्डौ अहिले संक्रमितमुक्त भए पनि संक्रमणमुक्त भनिहाल्ने अवस्था चाहि नरहेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।
काठमाण्डौमा टेकूबाहेक पाटन र वीर अस्पतालमा समेत कोरोना संक्रमितको उपचार व्यवस्था मिलाइएको छ ।
अन्य प्रदेश तथा जिल्लाहरुको तुलनामा काठमाण्डौमा क्वारेन्टाइनमा रहनेको संख्या समेत न्यून मात्र छ ।
यसरी, कोरोना संक्रमण रोकथामका लागि लकडाउन लागू गरिएका सुरुवातका दिनहरुमा काठमाण्डौ ‘असुरक्षित’ भन्दै यहाँबाट जिल्लातर्फ जानेको संख्या ह्वात्तै बढेको र अहिले समेत सो क्रम जारी रहे पनि अहिले आएर काठमाण्डौ बढी सुरक्षितजस्तो देखिएको विज्ञ बताउँछन् ।
तर, संक्रमित सबै निको हुनु, नयाँ संक्रमित नभेटिनुले मात्र यसलाई पुष्टि भने गर्दैन । काठमाण्डौमा तीव्र रुपमा परीक्षण गर्ने काम अझै भएको छैन । संभावित जोखिमका क्षेत्रहरुमा तीव्र परीक्षण गर्न सकिएको खण्डमा मात्र काठमाण्डौ र सिंगो देश पूर्ण सुरक्षित हुने विज्ञ बताउँछन् ।
पछिल्लो समय नेपालमा जति पनि कोरोना संक्रमित भेटिएका छन्, तीमध्ये अधिकांशमा कुनै लक्षण नै देखिएको छैन । यसर्थ काठमाण्डौमै पनि सामान्य जीवन यापन गरिरहेकाहरुमा समेत लक्षण नदेखिए पनि कोरोना संक्रमण हुनसक्ने तथ्यलाई बिर्सन नहुने स्वास्थ्य विज्ञहरुको तर्क छ ।
कतिपयले भने काठमाण्डौमा लकडाउनको कडाईपूर्वक पालना गरिएका कारण समेत यहाँ संक्रमण फैलन नपाएको दाबी गरेका छन्।
काठमाण्डौको अन्य क्षेत्रको तुलनामा केही सहज अवस्था रहेका कारण पछिल्लो समय यहाँको आर्थिक गतिविधि सुचारु गरिनुपर्ने र लकडाउन केही खुकुलो बनाइनुपर्ने आवाज समेत उठिरहेको छ ।
सरकारले समेत काठमाण्डौमा बैशाख १५ गतेसम्म पनि नयाँ संक्रमित भेटिएनन् भने लकडाउनको स्वरुप परिवर्तन हुनसक्ने प्रष्ट संकेत दिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छन् ।
उदयपुरमा संक्रमण देखिएका २८ जनाको कोशी अस्पतालमा, कैलालीको सेती अस्पतालमा २, पर्सामा नारायणी अस्पतालमा ४, बागलुङको बागलुङ अस्पतालमा १, भरतपुरको भरतपुर अस्पतालमा २ तथा धनुषामा एकजना उपचाररत छन्।
हाल विभिन्न क्षेत्रमा उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म सबैभन्दा बढी संक्रमित प्रदेश १ मा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago