काठमाण्डौ । दक्षिण पूर्वी एशियाली देशहरुमा कोरोना संक्रमण हुनेमध्ये निको भएर घर फर्किने मामलामा नेपाल सबैभन्दा अगाडि देखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।
मन्त्रालयलको नियमित प्रेस ब्रिफिङको क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले यस्तो दाबी गरेका हुन् ।
‘आज पनि नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ वर्षीय युवा र वीरगञ्जका ३ गरी ४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । हाम्रोमा हालसम्म ५१ जना संक्रमित भेटिइसकेका छन् ।’ डा. देवकोटाले भने–‘यसरी हेर्ने हो भने कुल संक्रमितमध्ये करिब एकतिहाई निको भएर घर फर्किएका छन् । दक्षिण एशियाली देशहरुमा यो सबैभन्दा राम्रो अवस्था हो ।’
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले सुरुवातमा अंगिकार गरेका ४ बुँदे रणनीति र त्यसपछि अपनाइएको ‘६ टी’को रणनीतिका कारण अभियानहरु प्रभावकारी बनेका र त्यसले काम गरेको परिणाममा देखिन थालेको उनको भनाई छ ।
दक्षिण एशियाका ११ वटा देशमध्ये सबैभन्दा कम संक्रमित भूटानमा रहेका र त्यसपछि नेपाल रहेको उल्लेख गर्दै उनले भने–‘भूटानपछि यो क्षेत्रमै नेपालको अवस्था सामान्य छ ।’
सार्क तथा दक्षिण पूर्वी एशियाका मन्त्री तथा राज्यमन्त्रीहरुसँग विभिन्न मितिमा भिडियो कन्फरेन्स भएका र त्यहाँ उनीहरुले समेत नेपालले कोरोना रोकथामका लागि गरेका प्रयासहरुको प्रशंसा गरेका उनको दाबी छ । ‘अन्य देशहरुको तुलनामा नेपालको अवस्था सामान्य छ ।’ उनले भने–‘हामीले चालेका रणनीति, नेपालमा संक्रमितको संख्या र उनीहरुको स्वास्थ्य अवस्थालाई हेर्दा हामी सुविधाजनक अवस्थामा छौ भन्ने देखिन्छ ।’
नमूना परीक्षणको मामलामा समेत भूटान र माल्दिभ्सलाई छाडेर बाँकी देशको तुलनामा नेपालको अवस्था राम्रो रहेको डा. देवकोटा बताउँछन् ।
दक्षिणपूर्वी एशियाको क्षेत्रमै पहिलो कोरोना संक्रमित माघ १ गते नेपालमा भेटिएका थिए । तर, त्यसपछिको अवस्थामा अन्य देशमा भन्दा नेपालमा संक्रमणको संख्या नियन्त्रणमा ल्याउन सरकार सफल बन्दा नेपालपछि कोरोना संक्रमण भित्रिएका देशहरुको अवस्था भयावह बन्दै जाँदा नेपाल भने सुरक्षित देखिएको बताइएको छ ।
नेपालका संक्रमितहरुमध्ये अधिकांश लक्षणविहीन रहेका समेत उनले खुलाए । हाल उपचार गराइरहेका ३५ संक्रमितहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।
बिरामीको उपचार पद्धति, प्रादेशिक स्तरमा अस्पतालको विकाससहित समग्र उपचारको अवस्थामा पनि नेपाल सामान्य रहेको डा. देवकोटाले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago