काठमाण्डौ । अछामको चैरपाटी घर भई हाल भारतको मुम्बईस्थित गिरगाउँ चौपट्टीमा बस्दै आएका एकै परिवारका आठ नेपाली कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। 

एक महिनाअघि त्यो नेपाली परिवारका आठजनामा कोरोना पोजेटिभ देखिएको थियो। सबैजना निको भएपछि दोस्रो जीवन पाएको अनुभूति गरिरहेका छन्। 

बीबीसीका अनुसार मुम्बईस्थित तीनवटा अलग–अलग अस्पतालमा झन्डै साढे तीन साताको उपचारपछि उनीहरु निको भएका हुन्। हाल उनीहरू हाल मुम्बईस्थित आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका छन्। 

घरमूलीसहित उनकी पत्नी, दुई छोरी, तीन भाइ र र एक भतिजामा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु कोरोना घरमूलीका माइलो भाइबाट सरेको हुन सक्ने चिकित्सकको आंशका छ। किनकि सुरुमा उनलाई ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने लक्षण देखिएको थियो। ‘त्यसपछि मैले भाइमा कोरोना संक्रमण रहे या नरहेको परीक्षण गराउने निधो गरेँ’, घरमूलीले बीबीसीसँग भने, ‘भाइमा पोजेटिभ देखियो अनि एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएकोमा ८ जनामात्र पोजेटिभ देखियो।’ 

मुम्बईका ट्रमा, कस्तुरवा र पी. डब्लू अस्पतालमा उनीहरुको उपचार भएको थियो। उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। ‘सुरुमा निकै डर थियो तर सबैले आत्मबल बलियो बनाएकोले यो भाइरसलाई जित्न सक्यौँ’, घरमूली भन्छन्। 

त्यसो त घरमूली आफूले तेस्रो जूनी पाएको बताउँछन्। सन् २००७ मा एउटा ठूलो सवारी दुर्घटनामा परेपछि ८ महिना अस्पताल बसेर उनी ठिक भएका रहेछन्। 

यो परिवारका मूली ४२ वर्षका भए। उनी तीन दशकअघि बाल्यकालमै घरबाट भागेर रोजगारीका लागि मुम्बई पुगेका रहेछन्। हाल उनी त्यहाँ सुरक्षा गार्डहरू आपूर्ति गर्ने व्यवस्था चलाउँछन्।