काठमाण्डौ। विगत एक महिनायता चीनको हुबेई प्रान्तको राजधानी वुहानमा कोरोना संक्रमित देखिएका छैनन्।

कोरोनाभाइरसको इपिसेन्टर मानिएको वुहानमा विगत ३२ दिनदेखि एकजना पनि संक्रमित नभेटिएको चिनियाँ सरकारी मिडिया सिन्ह्वाले जनाएको छ। 

गत वर्ष डिसेम्बर ३१ मा वुहानमा पहिलोपटक कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो। त्यसपछि यो भाइरस अहिले विश्वका अधिकांश देशमा फैलिएको छ। 

कोरोना महामारी घोषणा गरिएपछि वुहान सहर ७६ दिनसम्म लकडाउन गरिएको थियो। केही साताअघि लकडाउन खोलिएसँगै मानिसको चहलपहल बढेको छ। यद्यपि विगत ३२ मा १ जना पनि कोरोना संक्रमण फेला नपर्नुल चीनले कोरोना भाइरस नियन्त्रणमा ठूलो सफलता हात पारेको स्वास्थ्य अधिकारीहरुले दाबी गरेका छिन्। 

त्यसो वुहानमा बुधबारदेखि स्कुलहरु पनि खुला गरिएका छन्। परीक्षा तयारीमा रहेका विद्यार्थीहरुका लागि मात्र स्कुल खुला गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। अहिले वुहानमा करिब ५७ हजार विद्यार्थी परीक्षाको तयारी गरिरहेका छन्। 

यसैबीच चीनभरि पछिल्लो २४ घन्टामा जम्मा २ जना नयाँ संक्रमित फेला परेका छन्। योसँगै त्यहाँ संक्रमितको संख्या ८३ हजार ९६८ पुगेको छ। तीमध्ये ४ हजार ६३७ जनाको ज्यान गएको छ भने ७८ हजार ८७० जना निको भएर घर फर्किसकेका छन्। 

उता आलोचकहरुले भने चीनको तथ्यांकप्रति भने आशंका जनाइरहेका छन्। – एजेन्सी