काठमाण्डौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का प्रमुख थोमस बाकले कोरोना महामारीलाई ध्यानमा राखेर आउँदो वर्ष टोक्योमा हुने ओलम्पिक खेलहरु रद्द हुन सक्ने बताएका छन्।

गत मार्चमा आईओसी र जापान सरकारबीच भएको छलफलपछि टोकियो ओलम्पिकका खेलहरु केही समयका लागि स्थगित गर्ने फैलसा भएको थियो। यो खेल पहिला जुलाइमा हुने भनिएको थियो तर आउँदो वर्ष गर्ने सहमति भएको थियो। 

तर अहिले जापानका प्रधानमन्त्री सिन्जो अबेले यदि कोरोनाभाइरमाथि नियन्त्रण लिन नसकिए सन् २०२१ मा ओलम्पिक खेल सञ्चालन गर्न मुस्किल रहेको बताएका छन्। थोमस बाक पनि अबेको भनाइमा सहमत देखिन्छन्।

जापानमा कोरोनाभाइरसबाट अहिलेसम्म १७ हजार १०० जना संक्रमित भइरकेका छन्। त्यहाँ हालसम्म ७९७ जनाको ज्यान गइसकेको छ। 

थोमस बाकले अहिलेको परिस्थितिमा ओलम्पिक आयोजना कमिटीले ३ देखि ५ हजार कर्मचारी भर्ना गर्न नसक्ने स्पष्ट पारे। ‘न त हरेक वर्ष खेलका मितिहरु परिवर्तन गर्न सकिन्छ न त खेलाडीहरुलाई खेलको मितिका विषयमा झुठो दिलाशा दिन सकिन्छ’, उनले भने। 

बाकले आईओसी आउँदो वर्ष ओलम्पिक खेल सञ्चालनको तयारी गर्न चाहन्छ र यसका लागि खेलाडीहरुलाई क्वारेन्टाइनको व्यवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ। – एजेन्सी