काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीले सेयरबजारमा आएको गिरावटमा नेपाल धितोपत्र बोर्डले कारोबार बन्द गर्ने तयारी गरेसँगै बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आएको छ।
नेप्से परिसूचकमा भएको गिरावटलाई सही अवसरका रुपमा लिँदै केही साताअघि आफूसँग भएका सेयरहरु बेचेर प्रफिट बुक गरेका म्युचुअल फन्डहरुले पनि हिजोआज भारी मात्रामा सेयर खरिद गरिरहेको र सेयरमूल्यमा आएको गिरावटले प्यानिक भएका लगानीकर्ताले आत्तिएर सस्तै सेयर बेचिरहेको ब्रोकरहरु बताउँछन्।
हिजोमात्रै सरकारले विभिन्न क्षेत्र लकडाउन गर्ने निर्णयपछि बढी भीडभाड हुने ब्रोकर हाउसहरुमा पनि कोरोनाभाइरस रोकथामका लागि आज लगानीकर्ता, ब्रोकर, नेप्से र बोर्डबीच घनिभूत छलफल बोर्डमै चल्यो। सर्वपक्षीय भेलाले सेयर कारोबार बन्द गर्न सकारात्मक हुँदा परिसूचकमा आएको निरन्तरको गिरावटमा भने आज ब्रेक लाग्दै दोहोरो अंकको बढोत्तरी आएको हो।
आजको दिन नेप्से परिसूचक १३.५० अंकको बढोत्तरीसँगै १२६९.३० को विन्दुमा पुगेको छ। त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि २.०३ अंकले बढ्दै २७३.८२ को विन्दुको उचाइमा पुगेको छ।
आज नेप्से उपसमूहमा रहेका सातवटा समूहमा हरियाली छायो भने पाँचवटामा रातो पोतियो।
यो दिन जीवन बीम समूहमा उछाल आयो। यो समूहमा मात्रै १४०.५ अंकको बढोत्तरी आयो।
निर्जीवन बीमा समूहमा ७७.३२ अंकको बढोत्तरी भएको आज लघुवित्त समूह २०.५९ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूहमा १३.६५ अंक, जलविद्युत् समूहमा ९.१६ अंक, अन्य समूहमा ५.६५ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको बढोत्तरी देखियो।
आज व्यापार समूह १.३६ अंक, होटेल्स् समूह ४.८१ अंक, विकास बैंक ३.२७ अंक, वित्त समूह ६.५४ अंक र उत्पादन तथा प्रशोधन समूह २.२ अंकले घट्यो।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृत १७३ कम्पनीका ५१ लाख ६ हजार ६८१ कित्ता सेयर १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ८ रुपैयाँमा कारोबार भयो।
यो दिन हिमालयन डिस्टिलरीले सर्वाधिक कारोबार गर्न सफल भयो। यो कम्पनीले मात्र आज ३१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार गर्यो।
नेपाल लाइफ इन्स्योरेन्सले ११ करोड ३१ लाख रुपैयाँबराबरको कारोबार गरेको आजको दिन एनआईसी एसिया बैंकले ९ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भयो।
त्यस्तै एनएमबी बैंकले ७ करोड १८ लाख रुपैयाँ, नेपाल बैंकले ४ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकले ४ करोड ८४ लाख रुपैयाँ, शिवम् सिमेन्टले ४ करोड ६२ लाख रुपैयाँ, नबिल बैंकले ४ करोड ३ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयरले ३ करोड ८३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकले ३ करोड ८२ रुपैयाँ बढीको कारोबार गरेका छन्।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन जनउत्थान सामुदायिक लघुवित्त र राधी विद्युत् कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो।
आज सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयरमूल्य झन्डै १० प्रतिशतको हाराहारीमा घट्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago