काठमाण्डौ । नेपालमा कोरोना संक्रमित बढ्ने दर तीव्र बन्न थालेको छ । सोमबार देशमा हालसम्मकै सबैभन्दा बढी संक्रमितको पहिचान भएको हो । यो दिन देशका विभिन्न क्षेत्रमा २२६ संक्रमितको पहिचान भएको हो । 

योसहित देशमा कुल कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । कुल संक्रमितमध्ये १६६७ पुरुष र १३१ महिला रहेका छन् । 

सोमबार डोटीमा समेत कोरोना संक्रमित फेला परेका छन् । योसहित देशका ७७ मध्ये ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विराटनगरको गरिएको स्वाब परीक्षणमा झापाको बाह्रदशीका २ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २ जना पुरुष, बिना त्रिवेणीका एक १४ वर्षीय बालकमा संक्रमण पुष्टि भएको छ । 

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु दैलेख नारायण नपाका ९ जना पुरुष, दैलेखकै सिमडाका २ जना, दैलेखका देवाकाँडाका ३ जना, सोत र साधुका १÷१ जना, जूकेपानीका एक पुरुष तथा दुल्लुका ७ जनामा समेत संक्रमण देखिएको छ । दुल्लुमा भेटिएका ७ संक्रमितमध्ये २ महिला, एक वर्षका बालक र अरु पुरुष रहेका छन् । 

यस्तै, जुम्ला हिमाका ८ जना पुरुष, जुम्लाको सिञ्जाका ९ जना तथा जुम्लामा कार्यरत २ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । 

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी अन्वेषण केन्द्रको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये दैलेख नारायण नपाका १६ जना पुरुष, महागुपालीका १ जना, सल्यान बनगाडका १० जना, सुर्खेत बराहतालका ५ जना पुरुष रहेका छन् । 

यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २० जना नयाँ संक्रमितको पहिचान भएको छ । उनीहरुमध्ये कपिलवस्तुको बाणगंगाका २ जना महिला, रौतहट परौवाका १४ जना पुरुष, रौतहटकै यमूनामाई गाउँपालिकाका ४ जना(एक महिलासहित) पुरुष रहेका छन् । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकडेको डुडुवाका पुरुष रहेका छन् । 

यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ९ जनामा पोजिटिभ देखिएको छ । उनीहरु सबै दाङका हुन् । उनीहरुमध्ये तुल्सीपुर उपमहानगरपालिका ५ जना पुरुष, गढवा गापाका २ जना, लमहीका १ जना पुरुष र राप्ति गापाका एकजना रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
उनीहरुमध्ये धनुषा धनौजीका ४ जना पुरुष, हंसपुरका २ जना पुरुष, धनुषाकै जनकपुर प्रादेशिक अस्पतालका १ जना पुरुष, कपिलवस्तु शिवराजको क्वारेन्टाइनमा रहेका १२ जना पुरुष, कपिवलवस्तुको हरिहपुरका ८ जना पुरुष, कपिलवस्तुकै महाराजगञ्जका २ पुरुष तथा रंगीलाल मावि क्वोन्टाइनका ११ पुरुष रहेका छन् । 

कपिलवस्तुको चन्द्रौटास्थित  राष्ट्रिय माविस्थित क्वारेन्टाइनमा ३ जना, रघु सामुदायिक स्कूलको क्वारेन्टाइनमा २ जना, महोत्तरी लाहौरपट्टि क्वारेन्टाइनका २ जना, मकवानपुरका एकजना, सर्लाहीको जनता मावि क्वारेन्टाइनमा ५ जना( ९ वर्षे बालकसहित बाँकी महिला) रहेकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

सर्लाहीको जनता माविको क्वारेन्टाइनमा ३३ जनामा संक्रमण देखिएको छ । तीमध्ये ११ वर्षे बालकदेखि ७५ वर्षसम्मका व्यक्ति रहेका छन् । 

यसैगरी, सिरहाका सूर्यनारायण सत्यनारायण माविको क्वारेन्टाइनमा बसेका ५ पुरुष, जनकपुरको प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उदयपुरका एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । 

यस्तै, सेती अस्पताल धनगढीमा गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अछामका एक वर्षका बालक, कैलालीका १४ जना(२ वर्षका बालक र ३ महिलासहित), बैतडीका एकजना, डोटीका एकजना र कञ्चनपुरका एक जना ११ महिने बालक रहेका छन् ।