काठमाण्डौ । तराईमा व्याप्त कोभिड १९ भाइरसको संक्रमण पहाडतर्फ पनि उक्लिने क्रम तीव्र बन्न थालेको छ । 

यो क्रममा हालसम्म एकजना पनि संक्रमित फेला नपरेका पूर्वी नेपालका तीन पहाडी जिल्लामा संक्रमित भेटिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार तेह्रथुम, ताप्लेजुंग र पाँचथरमा पनि संक्रमित फेला परेका हुन् । 

तेह्रथुम आठराईकी २० वर्षीय महिला, ताप्लेजुंगको शान्ति गाउँपालिकाको क्वारेन्टिनमा बसेका ३ पुरुष तथा पाँचथरको लेहाङका एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण फैलिएका जिल्लाहरुको कुल संख्या ६४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा योसहित २०१ नयाँ संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको कुलसंख्या २३०० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाको शहीदभूमि गाउँपालिकाका एक पुरुषमा संक्रमण देखिएको छ । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा सप्तरीको त्रिभुतका एक पुरुष, ताप्लेजुङको शान्ति गाउँपालिका क्वारेन्टाइनमा रहेका ३ जना, झापाको बुद्धशान्ति गापा एक पुरुष, पाँचथरको लेहाङका एकजना पुरुष, सुनसरीको भोक्राहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ७ पुरुषमा संक्रमण देखिएको छ । 

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजिटिछ देखिएको छ, उनीहरु पर्साको विन्दबासिनी तथा कालिकामाई लगायतका क्वारेन्टाइनमा बसेका पुरुषहरु हुन् ।

सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ गरी ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । 

विराटनगरको कोशी अस्पताल प्रयोगशाला गरिएको परीक्षणमा मोरंगको रंगेली नगरपालिकाका क्वारेन्टिनमा बसेका २ पुरुष, झापाको कमाल गापाका एकजना, तेह्रथुम आठराईकी २० वर्षीय महिला, सुनसरी बराहक्षेत्रको क्वारेन्टिनमा बसेका एक पुरुषमा संक्रमण देखिएको छ । 

सेती अस्पतालको गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जना पुरुषमा संक्रमण देखिएको छ । सबै क्वारेन्टाइनमा बसेका छन् । 

रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जनामा कोरोना देखिएको छ । उनीहरुमध्ये १० महिला, एक वर्षका एक बालक र पुरुष गरी कपिलवस्तुका ६७ जना रहेका छन् । उनीहरु मायादेवी र शुद्धोधन गाउँपालिकाका क्वारेन्टाइनमा बस्नेहरु हुन् । 

यस्तै, पाल्पाका एक महिला र एक पुरुष गरी २ जना, रुपन्देहीको बौद्ध विश्वविद्यालय क्वारेन्टिनमा रहेका २६ जना( ४० वर्षीया महिला, १३ वर्षे बालक र बाँकी पुरुष) रहेका छन् । 

जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका मटिहाटीका ९ पुरुषमा संक्रमण देखिएको छ । 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दैलेखको दुल्लू तथा नारायण नगरपालिका ६ जना, कालीकोटका ७ जना गरी कुल १३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । 

दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा दाङको बंगलाचुली र राजपुर गाउँपालिकाका ५ जना(२ महिलासहित), प्यूठानका २ जना र सल्यानका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । 

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये धनुषाका एकजना पुरुष, कपिवलस्तु ओडारी मावि क्वारेन्टाइनका २ जना पुरुष, काठमाण्डौ मेडिकल कलेज र टोखाका गरी ३ जना महिला रहेका छन् । 

नवलपरासीका पहलीनन्दन र बर्दघाटका ८ जना पुरुष, रौतहटका ११ जना, रुपेन्देहीको मायादेवीका १ पुरुष, सर्लाहीका क्वारेन्टिनमा रहेका १५ जना( ११ वर्षे एक बालकसहित) तथा सिन्धुपाल्चोक इन्द्रावतीका एक पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।