काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप ५३८ संक्रमित फेला परेका छन् । योसहित देशमा कुल संक्रमितको संख्या बढेर १० हजार ९९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सुनसरी, सप्तरी, मोरंग, तेह्रथुम, महोत्तरी, अछाम, अर्घाखाँची, बाग्लङ, बझाङ, बाजुरा, डडेलधुरा, धादिङ, गोरखा, गुल्मी, कैलाली, कञ्चनपुर, कास्की, नवलपरासीपूर्व, पर्वत, रौतहट, रुपन्देही, सर्लाही, सिरहा, स्याङ्जा, तनहुँ, धनुषा, लमजुङ, पाल्पा, प्यूठान, दाङ, सल्यान, सुर्खेत, दैलेख, हुम्ला र कालीकोटमा थप संक्रमित फेला परेका हुन् । 

पछिल्लोपटक देशका ७७ मध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण विस्तार भइसकेको छ । अब बागमति प्रदेशका रसुवा जिल्लामा मात्र भाइरसको संक्रमण पुगेको छैन । 

यसैगरी, पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट कोरोनालाई जितेर थप ७६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने कुल संक्रमितको संख्या २ हजार २२४ पुगेको मन्त्रालयले जनाएको छ ।

थप एकको मृत्यु
यसैबीच, देशका थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका ४५ वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्षयरोग र दमका बिरामी समेत रहेका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि असार ३ गते दुल्लु अस्पताल दैलेखबाट प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको थियो । असार ३ गते स्वाब नमूना संकलन गरी चेकजाँच गर्दा ४ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । उनको असार ८ गते मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।