काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनको अन्यौलता र कोरोनाभाइरस समुदायस्तर फैलिन सक्ने त्रासले नेप्से परिसूचकमा आइरहेको गिरावटले आज मंगलबार पनि निरन्तरता पाएको छ।

चालु आर्थिक वर्षको मोद्रिक नीतिमा भएका प्रावधानलाई नेपाल राष्ट्र बैंकले हिजो सोमबार जारी गरेको निर्देशनमा सेयर कर्जाको सीमा ५० लाखभन्दा बढी नपाइने बुझाइका कारण लगानीकर्तामा हिजोदेखि नै तरंग ल्याएको थियो। निश्चित प्रयोजन नखुलाई व्यक्तिगत रुपमा सेयर धितो कर्जा रकम ५० लाखभन्दा बढी नपाइने हो। तर, यसैलाई आम सर्वसाधारणले सेयर धितो कर्जा अब ५० लाख रुपैयाँभन्दा धेरै नपाइने पो हो कि भन्ने मनावैज्ञानिक त्रासले बजारले रौनक हासिल गर्न सकेन। ‘सेयर धितो कर्जा भनी प्रयोजन खुलाइएमा कर्जा रकम ५० लाखको सीमा आकर्षित हुँदैन, बरु अन्य प्रयोजनमा नगई सोझै सेयर धितो कर्जामार्फत प्रवाह भएको रकम सेयर बजारमै आउने भएकाले बजारका लागि सुखद र सकारात्मक छ’, जानकारहरु भन्छन्। 

यससँगै काठमाण्डौस्थित महाबौद्धमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको र व्यापारी तथा व्यवसायीमा कोरोना संक्रमण देखिएको भन्दै काठमाण्डौ थप कोरोना जोखिमपूर्ण हुने डरले समेत लगानीकर्ताको मनोबलमा नकारात्मक असर परेको देखिन्छ। कोरोना संक्रमण समुदायस्तरमै फैलिए पुनः लकडाउन भई अर्थतन्त्र शिथिल हुने र बजार गिरावट हुने भयले समेत लगानीकर्तामा सेयर खरिदमा चासो नभएको बताइन्छ।

आज नेप्से परिसूचक ७.५९ अंकको गिरावटसँगै १४५४.८९ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स भने १.६४ अंकले घट्दै ३०५.६७ को विन्दुमा सीमित बन्न पुगेको छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामात्र हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ। 

आज वित्त समूहमा ०.१२ अंक र म्युचुअल फन्ड समूहमा ०.१४ अंकको बढोत्तरी भयो। यो दिन बैंकिङ समूहमा ६.७२ अंक, व्यापार समूहमा १७.३२ अंक, होटेल्स् समूहमा २.९८ अंक, विकास बैंक समूहमा १२.३ अंक, जलविद्युत् समूहमा ३.६३ अंक, निर्जीवन बीमा समूहमा ५७.६१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३८.३४ अंक, अन्य समूहमा ०.९७ अंक, लघुवित्त समूहमा ९.९९ अंक र जीवन बीमा समूहमा ५०.५१ अंकको गिरावट देखियो। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८५ कम्पनीका ३२ लाख ४७ हजार ६८ कित्ता सेयर १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ रुपैयाँमा कारोबार भयो। 

आज नेपाल पुनर्बीमा कम्पनीकोसबैभन्दा धेरै कारोबार भयो। यो कम्पनीको मात्र १० करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भयो। 

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ८९ लाख रुपैयाँ, एनएमबी बैंकले ६ करोड ४१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५ करोड ६२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ५ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तले ४ करोड ९४ लाख रुपैयाँ, नबिल बैंकले ४ करोड ४५ लाख रुपैयाँ, एनसीसी बैंकले ३ करोड ७४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३ करोड १ लाख रुपैयाँ र नेपाल बैंकले २ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार गरे। 

धेरै कमाउने र धेरै गुमाउने 

आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। त्यस्तै जोशी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो।

यो दिन पोखरा फाइनान्सको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आयो।