काठमाण्डौ । पछिल्लो २४ घण्टाभित्र काठमाण्डौ उपत्यकाका तीन जिल्लामा २९८ कोरोना संक्रमित थपिएका छन् । उपत्यकासहित देशभर थपिएका कोरोना संक्रमितको संख्या ८९९ रहेको छ । 

योसहित हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । 

पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना थपिएका हुन् । 

यो अवधिमा देशभरबाट ५८८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या २१ हजार ४१० पुगेको छ । 

सरकारले पछिल्लो २४ घण्टामा ११ हजार १२९ पीसीआर टेस्ट गरेको छ । योसहित हालसम्मको कुल पीसीआर टेस्ट संख्या ६ लाख ९३ हजार ४७२ पुगेको छ । 

कोरोना संक्रमितको संख्या बढेसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या पनि बढेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या बढेर आजसम्म १२ पुगेको छ । २ जिल्लामा संक्रमितशून्य रहेका छन् । 

सोमबारसम्ममा देशभर १३२ जना संक्रमित आइसियूमा तथा १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आइसियूमा उपचार गराइरहेकाहरुका संख्या प्रदेश १ मा ४ जना, २ मा ३८ जना, बागमति प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १७ जना रहेका छन् । प्रदेश १ का एकजना, बागमति प्रदेशका १३  र प्रदेश ५ का २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर थप ७ जनाको मृत्यु भएको छ । योसहित कोरोनाका कारण मर्नेको संख्या २२८ पुगेको छ । 

मृत्यु हुनेहरुमा महोत्तरीकी ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष रहेका छन् । मृत्यु हुने अन्य दुई महिलामा गोरखा(६५) र रुपन्देही(६८) रहेका छन् । 

यस्तै, मृतक पुरुषहरुमा झापा(८६), रौतहट(४०), चितवन(७८) र भक्तपुर(७७) रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।