काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा ४८१ जना संक्रमित थपिएका हुन् । 

उपत्यकामा थपिएकामध्ये सबैभन्दा बढी काठमाण्डौका ३९३ जना रहेका छन् । यस्तै, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका छन् । 

काठमाण्डौमा ४८१ सहित यो अवधिमा देशभर १ हजार ६९ संक्रमित थपिएका छन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ संक्रमित डिस्चार्ज भएका छन् । योसहित हालसम्म डिस्चार्ज हुने संक्रमितको संख्या २२ हजार १७८ पुगेको मन्त्रालयले जनाएको छ । 

यसरी हाल देशभर रहेका सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ । 

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३९ पुगेको छ । 

सरकारले हालसम्म ७ लाख ५ हजार ५६० जनाको पीसीआर परीक्षण गरिसकिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण भएको छ ।

देशभर १८ हजार ११२ जना आइसोलेसनमा रहेका छन् भने ७ हजार ३९० जना क्वारेन्टिनमा रहेका बताइएको छ ।