काठमाण्डौ । केही दिनयतादेखि कोभिड १९ को संक्रमणमाथि जित हासिल गरेर डिस्चार्ज हुनेको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा पनि देशभरबाट २ हजार २८७ जना कोरोनामाथि जित हासिल गरी घर फर्किएका छन् । 

योसहित हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ तथा निको हुने दर ६८.५ प्रतिशत पुगेको छ । नयाँ संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढेसँगै हिजो मात्रै निको हुने दर ६५ प्रतिशतमा सीमित रहेकोमा यो दर बढेर ६८.५ प्रतिशत पुगेको हो । 'डिस्चार्ज हुनेको संख्या दिनहुँ बढिरहेको छ, यसले हामी सुधारोन्मुख गतिमा अगाडि बढिरहेका छौं भन्ने देखिन्छ ।'-स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । 

उनका अनुसार पछिल्लो समय ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुको संख्या घट्न थालेको छ भने संक्रमितशून्य हुने जिल्लाको संख्या बढ्न थालेको छ । यसले समेत सुखद संकेत गरेको गौतमको भनाई छ । 

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६११ पीसीआर टेस्ट भएकोमा ९०२ थप संक्रमित फेला परेका छन् । योसहित कुल संक्रमितको संख्या ४८ हजार १३८ रहेको छ । हाल देशभर १४ हजार ८६८ सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा ६ संक्रमितको मृत्यु भएको छ । योसहित मृत्यु हुने कुल संक्रमितको संख्या ३०६ पुगेको छ ।