काठमाण्डौ । तीन जिल्ला समावेश रहेको काठमाण्डौ उपत्यका पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । 

दैनिकजसो यहाँ थपिने कोरोना संक्रमितको संख्यामा नयाँ नयाँ रेकर्डहरु बन्न थालेको छ । पछिल्लो २४ घण्टामा पनि हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएर नयाँ रेकर्ड बन्यो । 

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै करिब ७०० संक्रमित थपिएका छन् । 

काठमाण्डौ जिल्लामा मात्रै ६२० संक्रमित थपिएका छन् । भक्तपुरमा ३८ र ललितपुरमा पनि ३८ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । 

काठमाण्डौपछि रुपन्देहीमा १०२, कैलालीमा ६७, मोरंगमा ४७, सुनसरीमा ४४, चितवनमा ७४, मकवानपुरमा ५४ र सिरहामा ४२ संक्रमित भेटिएका छन् । 

हाल देशभर १७० संक्रमित आइसियूमा र २५ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या घटेर ५ वटामा सीमित बन्न पुगेको छ । त्यस्ता जिल्ला काठमाण्डौ, चितवन, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् । 

देशका ७ जिल्लामा एकजना पनि सक्रिय संक्रमित छैनन् । ती जिल्लाहरु सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । 

यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ४ पुरुष र १ महिला रहेका छन् । मृतकहरुमा मोरंगकी ४० वर्षीया महिला रहेकी छिन् भने पुरुषहरुमा महोत्तरी(६५), धनषा(४५), काठमाण्डौ(७०) र नवलपरासी(५५) रहेका छन् ।