काठमाण्डौ । कोरोना संक्रमण व्यापक रुपमा फैलिइरहेको काठमाण्डौमा पछिल्लो समयको संक्रमण दर झनै उच्च बन्न थालेको छ । 

आइतबार देशभर थपिएका कोरोना संक्रमितमध्ये काठमाण्डौका मात्रै ७१ प्रतिशत रहेका छन् । यति धेरै संक्रमित काठमाण्डौमा हालसम्म कुनै पनि दिन फेला परेका थिएनन् । 

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७८४ पीसीआर टेस्ट गरिएकोमा २ हजार २५३ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्र १ हजार ५९९ रहेका छन् । 

उपत्यकामा सबैभन्दा बढी काठमाण्डौमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३२९ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित कुल निको हुने संख्या ६४ हजार ६९ पुगेको छ । 

कोरोना संक्रमित दर बढिरहे पनि दैनिक मृत्यु दर भने नियन्त्रणमै रहेको देखिन्छ । पछिल्लो २४ घण्टामा देशभर थप ७ संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ५३५ पुगेको छ ।