काठमाण्डौ । मंगलबार देशभर थपिएका कोरोना संक्रमितभन्दा निको भएर घर फर्किनेका संख्या निकै धेरै देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ५५१ कोरोना संक्रमित थपिए भने यही अवधिमा २ हजार ३४० संक्रमित निको भए । 

गत २४ घण्टामा ११ हजार ४७ को पीसीआर परीक्षण गर्दा १५५१ संक्रमित थपिएका हुन् । 

योसहित अब देशमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ भने कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

मंगलबारसम्म निको हुने दर ७४.३७ प्रतिशत पुगेको छ । 

यो दिनसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ । 

पछिल्लो २४ घण्टामा देशभर थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको कुल संख्या ५६३ पुगेको मन्त्रालयले जनाएको छ । 

काठमाण्डौमा कति भेटिए ?
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा १ हजार १७ संक्रमित थपिएका छन् । काठमाण्डौ जिल्लामा ७८३ संक्रमित थपिएका छन् । यस्तै, भक्तपुरमा ११६ र ललितुपर ११८ संक्रमित थपिएका छन् ।