काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोना संक्रमण बढ्दै गएकोले शिक्षण संस्थाहरुमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो। सबै सरोकारवालाले वर्तमान परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुपर्ने तथा शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने उल्लेख छ। ‘सबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन हुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिकोत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत मन्त्रालय सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछ।’

मन्त्रालयले विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ को पूर्ण रूपमा अनुशरण गर्न र उक्त कार्यढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्नु पनि अनुरोध गरेको छ।