ढाका । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एकहप्ते लकडाउनको घोषणा गरिएको छ। 

स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुने गरी सरकारले लकडाउन घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यक लगायतका कतिपय सेवा भने लक डाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन्। 

बंगलादेशमा अहिलेसम्म ६ लाख ३० हजार २७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ५ हजार ६८३ जना पछिल्लो एकैदिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा बंगलादेशमा कोरोनाकै कारण ५८ जनाको मृत्यु भएको छ। योसँगै यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या कुल ९ हजार २१३ जना पुगेको छ। स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एकदिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ। 
 

- रासस/सिन्ह्वा