काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ।  

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा स्वास्थ्य मापदण्डका सबै उपाय अपनाएर विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरिएको छ। स्यानिटाइजर, मास्क र साबुनपानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा कक्षा चलाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ। 

यसैगरी मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकारसमेत स्थानीय तहलाई दिएको छ। यसका साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी वर्गीकरण गरिएका जिल्ला, सहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न पनि मन्त्रालयले सुझाव दिएको छ। 

मन्त्रालयले तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष पनि निकालेको छ। त्यसैले सजगता अपनाउन भने मन्त्रालय अनुरोध गरेको छ।