काठमाण्डौ । विश्वका अधिकांश देशमा अहिले फेरि कोरोनाभाइरस संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यो भाइरसबाट बचाउने अचूक अस्त्रका रुपमा ‘मास्क’, भौतिक दूरी र हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने रहेका छन्। 

यही क्रममा मास्कका विषयमा विभिन्न सुझावहरु आइरहेका छन्। सर्जिकल मास्क, फ्याब्रिक मास्कका साथसाथै अब डबल मास्कको प्रयोगको पनि चर्चा चलिरहेको छ। यसबाट यो चाहिँ प्रस्ट हुन्छ कि राम्रो र उच्च गुणस्तरको मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ। 
अब प्रश्न उठ्न सक्छ । कहिले, कसले र कस्तो मास्क प्रयोग गर्ने ? 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सर्जिकल र फ्याब्रिक मास्कका विषयमा हालै एउटा गाइडलाइन जारी गरेको छ। उता अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्स (सीडीसी) ले डबल मास्कबाट हुन सक्ने सुरक्षाका विषयमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

कसले र कहाँ प्रयोग गर्ने मेडिकल वा सर्जिकल मास्क ?

डब्ल्यूएचओका अनुसार स्वास्थ्यकर्मी, कोरोना लक्षण देखिएका र संक्रमित बिरामीको रेखदेखमा खटिनेहरुले सर्जिकल मास्क प्रयोग गर्नुपर्छ । त्यस्तै जुन स्थानमा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको र जहाँ एक मिटरको भौतिक दूरीको नियम पालना भइरहेको छैन, त्यस्ता स्थानका मानिसले पनि सर्जिकल मास्क प्रयोग गर्नुपर्छ ।

यसैगरी ६० वर्षमाथिका वृद्धवृद्धा र जो मानिस पहिलेदेखि नै अन्य कुनै रोगबाट पीडित छन्, उनीहरुले पनि सर्जिकल मास्क प्रयोग गर्नुपर्ने डब्ल्यूएचओको गाइडलाइनमा उल्लेख छ। 

कसले र कहाँ प्रयोग गर्ने फ्याब्रिक मास्क ?

डब्ल्यूएचओको गाइडलाइनअनुसार कोभिड संक्रमण नभएका र लक्षण पनि नदेखिएका मानिसहरुले फ्याब्रिक मास्क प्रयोग गर्न सक्छन्। सार्वजनिक सवारीसाधनमा चढ्ने मानिस र कार्यालयमा काम गर्ने मानिसले पनि यो मास्क प्रयोग गर्न सक्छन्। यस्तै घरायसी सामानहरु बिक्री गर्ने पसले र किनमेल गर्न जाने मानिसहरुले पनि भीडभाडमा यस्तो मास्क प्रयोग गर्न सक्छन्। 

डबल मास्कको उपयुक्तता

अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले हालै गरेको एउटा अध्ययनबाट डबल मास्क प्रयोगले कोरोना संक्रमण सर्ने खतराबाट ९५ प्रतिशतसम्म बचाउन सक्छ । त्यसैले भीडभाडमा जाँदा वा सार्वजनिक सवारीसाधनमा चढ्न डबल मास्क प्रयोग उपयुक्त हुने अध्ययनले देखाएको छ। यसका लागि सर्जिकल मास्कमाथि अन्य कपडावाला मास्क वा दुवै कपडावाला मास्क प्रयोग गर्न सकिन्छ। यदि कसैले एन–९५ मास्क प्रयोग गरिरहेका छन् भने डबल मास्क प्रयोग गर्नु नपर्ने अध्ययनले देखाएको छ। 
यद्यपि कुनै पनि प्रकारका मास्क प्रयोग गर्नुभन्दा पहिले विशेषज्ञ चिकित्सकसँग परामर्श लिँदा उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी