काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणमुक्त हुने संख्या दैनिकजसो बढिरहेको छ। 

गत वैशाख २१ गतेयता संक्रमणमुक्त हुनेको संख्या दैनिकजसो बढ्दै गएको छ। गत वैशाख २१ गते १ हजार ७७५ जना संक्रमणमुक्त भएकोमा दैनिक आँकडा वैशाख २६ गतेसम्म बढेर ४ हजार २२ पुगेको छ। आज पनि थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। 

गत वैशाख २१ गतेयता देशभर थप २० हजार ७७९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। योसँगै संक्रमणमुक्त दर ७५.९८ प्रतिशत पुगेको छ। 

त्यसो त आज एकैदिन देशभर थप ९ हजार २७१ जना कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ। 

हाल सक्रिय संक्रमितको संख्या देशभर ९३ हजार १४१ रहेको छ। हाल सक्रिय संक्रमित दर २३.०७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोनाबाट ०.९६ प्रतिशतको ज्यान गएको छ। आजसम्मको आँकडाअनुसार देशभर ३ हजार ८५९ जनाको कोरोनाबाट ज्यान गएको छ। आजैमात्र देशभर थप १३९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो हालसम्मकै उच्च संख्या हो। 

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा रोकथाम तथा नियन्त्रणका लागि अहिले देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ।