काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ । 

गत २४ घण्टामा देशभर १९ हजार ९३९ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो भनेको करिब ३७ प्रतिशत नमूनाको रिपोर्ट पोजिटिभ आएको भन्ने हो । 

यो अवधिमा ३४४ नमूनाको एन्टीजेन परीक्षण गरिएको थियो, जसमा ५२ जना मात्र संक्रमित भएका पाइएको छ । एन्टीजेन परीक्षणबाट पोजिटिभ आएको संख्या हेर्ने हो भने संक्रमणदर १५ प्रतिशतमा सीमित बनेको देख्न सकिन्छ । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या समेत लगातार घटिरहेको छ । गत २४ घण्टामा देशभर १४५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा देशभरका अस्पतालबाट ६ हजार ६४८ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने संख्या समेत दैनिक बढिरहेको मन्त्रालयले जनाएको छ । आजसम्मको कोरोनाबाट मुक्त हुने दर ७४.६ प्रतिशत रहेको छ । 

आज देशभर १ लाख १० हजार २६३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होममा १ लाख २ हजार ४५५ जना रहेका छन् । 

यसैबीच, काठमाण्डौ उपत्यकामा समेत कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ । गत २४ घण्टामा काठमाण्डौ जिल्लामा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ संक्रमित फेला परेका छन् । यसरी कुल उपत्यकामा २ हजार ६०९ संक्रमित थपिएका छन् । यो संख्या पनि अघिल्लो दिनको र त्यसअघिका दिनहरुको भन्दा घट्दो क्रममा रहेको देखिएको छ । 

मन्त्रालयका अनुसार हाल १ हजार ३१३ कोरोना संक्रमितको आइसियूमा राखेर उपचार भइरहेको छ, जसमध्ये ३८० जना भेन्टिलेटरमा छन् ।