काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको उपचारमा संलग्न चिकित्सकलाई होटलमा राखिने भएको छ।

नयाँदिल्ली सरकारले कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुलाई राख्नका लागि नयाँदिल्लीस्थित होटल ललितका १०० वटा कोठाहरु खाली गराएको छ। होटलमा चिकित्सकहरुका लागि खान–बस्नलगायत सबै कुराको प्रबन्ध मिलाएको छ। होटलको सम्पूर्ण खर्च सरकारले व्यहोर्नेछ। 

यसको जानकारी नयाँदिल्लीको मुुख्यमन्त्री कार्यालयको ट्विटर ह्यान्डलबाट ट्विट गरेर दिइएको हो। नयाँदिल्ली सरकारले लोक नायक र जीबी पन्त अस्पतालमा कोरोनाको उपचार गरिरहेका चिकित्सकहरुलाई ललित होटलमा राख्ने व्यवस्था गरेको हो। 

नयाँदिल्ली सरकारका स्वास्थ्यमन्त्रीका अनुुसार चिकित्सकहरु कोरोनाको उपचारमा एक योद्धाको रुपमा खटिएका छन्। ‘चिकित्सकहरु २४ सै घन्टा उपचारमा खटिने भएकाले उनीहरुलाई अस्पतालवरिपरिकै होटलमा बस्ने व्यवस्था मिलाइएको हो’, उनले भने, ‘यो हाम्रो कर्तव्य र दायित्व पनि पनि हो।’ – एजेन्सी