काठमाण्डौ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना भारतीय निको भएर बुधबार डिस्चार्ज भएका छन्।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ भारतीयको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिएको बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए। 

उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन राखेर पुन: थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको  बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए। कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताइन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका ८२ मध्ये यसअघि १६ जना निको भएर फर्किसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। अब उपचारपछि निको हुनेको सङ्ख्या २२ पुगेको छ।