हाल नेपालको सेयर बजार तलमाथि भइरहेको हामी सबै लगानीकर्ता देखिरहेका छौँ। कारण के त भन्दा उल्लेखनीय केही छैन भन्ने कुरामा सबै लगानीकर्ता जानकार हुनुहुन्छ तर फेरि पनि बुलिस बजारमा किन उतारचढाव आइरहेको छ  ? कतिपयलाई लाग्न सक्छ– बैंकको ब्याज दर, तरलता अभाव, विभिन्न निकायले गर्ने नीतिगत परिवर्तन, मौद्रिक नीति, सरकार हेरफेर आदि कुरालाई कारक हुन् तर मेरो बुझाइ र सेयर बजारको विगतको इतिहासलाई हेर्दा हाल सरकार परिवर्तनका कारण नै लगानीकर्ताको आत्मविश्वास गुमेकोले बजारमा धेरै उतारचढाव देखिएको तलका उदाहरणबाट पुष्टि गर्न चाहन्छु। 

खासगरी नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन, त्यसमा पनि अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनजस्ता कारणले सेयर बजारलाई बढी प्रभाव पारेको देखिएको छ। यसको अर्थ मैले यहाँ कुनै पार्टी विशेष वा व्यक्ति विशेषलाई आक्षेप लाउने वा दोष देखाउनेभन्दा पनि यो नेपालको सेयर बजारको इतिहासको निचोड हो। यसमा मेरो कोही कसैप्रति आग्रह–पूर्वाग्रह केही नभएको कुरा स्पष्ट पार्न चाहन्छु।

मैले यहाँ विगतको सेयर बजारलाई नियाल्दा कसको नेतृत्वको सरकारको पालामा सेयर बजारमा उच्च विन्दु र कसको नेतृत्व हुँदा निम्न विन्दुमा बजार आएको थियो भन्ने घटनाक्रमलाई पाठक माझ जस्ताको तस्तै प्रस्तुत गर्ने कोसिस मात्र गरेको छु। 

२०६४/६५ को बजारलाई हेर्दा 

यस बेला बजारमा निकै उतारचढाव आइरहेको थियो। एक प्रकारले भन्दा बजार दिनहुँजस्तो बुलिस रेकर्ड बनाइराखेको थियो। त्यसबेला सरकारको नेतृत्व नेपाली कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले गरेका थिए। उनैको प्रयासमा माओवादीलाई शान्तिपूर्ण राजनीति ल्याई  चुनावमा होमेका थिए। जसको परिणाम सेयर बजारले नयाँ–नयाँ रेकर्ड राख्दै गयो। गिरिजाप्रसादकै पालामा बजारले ११७५ विन्दु चुमेर त्यसबेलासम्मको उच्चतम रेकर्ड पार गरेको थियो। चुनावको नतिजा आयो। माओवादी संसद्को सबैभन्दा ठूलो पार्टी भयो। त्यसपछि गिरिजाप्रसादको सरकार विस्थापित भयो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बन्यो र बाबुराम भट्टराई अर्थमन्त्री बने। त्यसपछि बजारको उचाइमा पनि ब्रेक लाग्यो। बजार विस्तारै घट्न थाल्यो। सरकार परिवर्तनले बजारलाई घटाउन थालेपछि लगानीकर्ताहरुले प्रधानमन्त्री, अर्थमन्त्री आदिलाई अहिलेको जस्तै ध्यानाकर्षण गराउन खोजे तर सरकारले टेरपुच्छर लगाएन। उल्टो तत्कालीन अर्थमन्त्री भट्टराईले बजारलाई ‘जुवाघर’ भनेर अभिव्यक्ति दिन थालेपछि बजार झन तीव्रगतिमा अधोगतितिर लाग्यो। अर्थमन्त्रीको त्यो अभिव्यक्तिले ११७५ उच्च विन्दु कायम भएको बजार १९२ को विन्दुसम्म झरेको थियो।

२०७२ को बुलिसलाई नियाल्दा 

मैले २०७२ सालको बुलिसलाई पनि यहाँ उल्लेख गरेको छु। त्यतिबेला पनि बजार विभिन्न चरण पार गर्दै माथि उक्लिरहेको थियो। सरकारको नेतृत्व केपी ओलीले गरेका थिए। सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका थिए। त्यसबेला बजारले पनि नयाँ–नयाँ रेकर्ड बनाइराखेको थियो। त्यही समय हो, बजारले १८८१ को विन्दु चुम्न सकेको। त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको सक्रियतामा ओलीलाई सत्ताबाट हटाएर प्रचण्डलाई पुनः प्रधानमन्त्री बनाइयो। त्यतिबेला पनि माओवादी सरकारलाई बजारले सकारात्मक रुपमा लिन सकेन र बजार विस्तारै ओरालो लाग्न थाल्यो। केही समयपछि प्रचण्डलाई पनि हटाएर शेरबहादुर देउवाको नेतृत्वमा अहिलेकै जस्तो माओवादीसहितको सरकार बन्यो। चुनाव पनि आइराखेको र कांग्रेसको नेतृत्वमा सरकार पनि बनेकाले लगानीकर्तालाई बजार फर्किने आशा थियो तर फर्केन। लगानीकर्ताको आशाविपरीत १८८१ पुगेको सेयर बजार पुनः ११०० सम्म झरेको थियो। सरकार परिवर्तनले सेयर बजारमा पारेको दोस्रो नकारात्मक असरका रुपमा यसलाई लिन सकिन्छ।   

२०७८ को बजारतिर नजर लाउँदा

शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको चुनावमा कम्युनिस्ट गठबन्धनले निकै उत्साह जनक परिणाम हासिल गर्यो। झन्डै दुई तिहाइ मत प्राप्त गरेको गठबन्धनले सरकारको नेतृत्व गर्दै केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भए। अर्थमन्त्रीका रुपमा अर्थविज्ञ मानिएका डा युवराज खतिवडा आए। अर्थतन्त्रको राम्रो ज्ञान भएका खतिवडा अर्थमन्त्रीका रुपमा आएपछि उनीसँग बजारले सुधारका काम सुरुआत होलान् भन्ने आश गरेको थियो तर उनी बजारप्रति त्यति उदार देखिएनन्। अर्थमन्त्री लगानीकर्ताले सोचेको विपरीत देखिए। त्यसपछि बजारमा खासै उछाल आउन पनि सकेन। 

यसैबीच केपी ओलीले डा. युवराज खतिवडाका ठाउँमा विष्णु पौडेललाई अर्थमन्त्री बनाए। विष्णु पौडेल अर्थमन्त्रीका रुपमा पुनः आएपछि बजारले राम्रो प्रतिक्रिया दिन थाल्यो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेल बजारप्रति उदार देखिए, जसका कारण बजारले नयाँ–नयाँ उचाइ बनाउन थाल्यो। सत्ताको कुत्सित खेलमा पल्केका खेलाडीले फेरि ओलीे सरकारलाई विस्थापित गर्दै २०७२ को इतिहासलाई सम्झाउने गरी माओवादीसहित देउवाको नेतृत्वमा सरकार बनेको छ। घुमिफिरी अर्थम न्त्रालय माओवादी पार्टीको भागमा परेको छ। बजारको ज्ञान नभएर हो वा यसको आवश्यकता बोध नभएर हो अहिलेका अर्थमन्त्रीले बजारलाई खासै महत्व नदिएको स्पष्टै छ। उनी बजारप्रति उदार नदेखिको गुनासो लगानीकर्तामा सुनिन थालेको छ। 

यो बेला  पनि  देउवाकै नेतृत्वमा चुनावको कुरा उठ्न थालेको छ। यसै बेला विष्णु पौडेल अर्थमन्त्री हुँदा ३२०० विन्दुमा पुगेको बजार वर्तमान सरकार आएपछि निरन्तर ओरालो यात्रामा रहेका कुरा सबैलाई अवगत नै छ। हालसम्मको उच्चतम विन्दुबाट ओरालो लाग्दै बजार २४५५ मा झरेपछि लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा आइपुगेको बेला बजारमा विभिन्न किसिमका अटकल बाजी चल्न थालेका छन्। कतिसम्म भने बजारले तल्लो विन्दु छुँदै गएको अवस्थाले कतै यो बजारले बियरीस ट्रेन्ड त समातेको होइन भन्ने कतिपय लगानीकर्ताका मनमा शंका जाग्न थालेको छ। कतिपय लगानीकर्ताले यो सरकारकै पालामा ओरालो लागेर न्यूनतम विन्दुमा पुग्ने हो कि भनी विगत सम्झेर आशंका पनि गर्न लागेका छन्। 

यदि यसपालि पनि बजार घटेमा नेपाली कांग्रेस सरकारमा आउँदा बजार बढ्छ भन्ने लगानीकर्ताको आशामा तुसारापात हुने अवस्था आउन सक्छ। यस विषयलाई कांग्रेसले पक्कै पनि बुझेको हुनुपर्छ। त्यसमा पनि महाधिवेशनको पूर्वसन्ध्यामा यस विषयमा प्रतिनिधिहरुबीच छलफल होला कि नहोला लगानीकर्ता चनाखो भएर हेरिरहेका छन्। किनकि हरेक दिनजसो वृद्धि भएको लगानीकर्ताको संख्याले ४५ लाख नाघेको अवस्थामा आसन्न निर्वाचनलाई नै प्रभावित गर्न सक्ने क्षमता त सेयर बजार क्षेत्रले राख्छ भन्ने हेक्का राजनीतिक दलले राखेकै होलान्।  

आजको सन्दर्भमा लगानीकर्ताका पनि स–साना संगठनको औचित्यभन्दा पनि एउटै ठूलो र सशक्त संगठनको आवश्यकता सबैले बोध गरेका छन्। अहिले नेता बन्नेभन्दा पनि सबै एकबद्ध भएर बजारप्रति पूर्वाग्रह राख्ने नेता र पार्टीलाई आउने चुनावमा चुनौती दिन सक्ने क्षमता लगानीकर्ताको संगठनले बनाउन सक्नुपर्छ। लगानीकर्ताप्रति उत्साह देखाउन नसक्ने सरकारलाई चुनौती दिन नसक्नु लगानीकर्ता संगठनको नेतृत्वको कमजोरी देखिन्छ। त्यसैले जनताको सानो–सानो लगानीप्रति गैरजिम्मेवार दल वा नेतृत्वलाई जिम्मेवार बनाउन सक्ने संगठन र नेतृत्वको विकास गरौँ भन्ने कुरालाई सबैले मनन गर्नु आजको आवश्यकता हो। 

को हुन सक्छ सेयर बजारको नायक ? आम लगानीकर्ताका बीच एउटा ज्वलन्त प्रश्न उठिरहेको छ।

पुनः स्पष्ट पार्न चाहन्छु, मैले कुनै पार्टी वा व्यक्तिप्रति पूर्वाग्राह राख्नेभन्दा पनि अहिलेको सेयर बजारले भोगेको, देखेको कुरालाई मात्र पाठकमाझ प्रस्तुत गरेको छु। मूल्यांकन गर्ने काम पाठकवर्गमा छोड्न चाहन्छु।