काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सले हिजोदेखि हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको आधिकारिक जानकारी दिएका छन् । 

तारा एयरको ट्वीनअटर नाइन एन-एईटी विमा पोखराबाट जोमसोमतर्फ जाने क्रममा हराएको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत नागरिक उड्डयन कार्यालय खोज तथा उद्धार समन्वय केन्द्रले तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका वडानम्बर २ स्थित सानुसुरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटना भएको पुष्टि गरेको हो । 

विज्ञप्तिमा आज विहान ८ः१० बजे उद्धारका लागि हेलिकोप्टर दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको र उद्धार कार्य तीव्र बनाइएको बताएको छ।

उता, तारा एयरले पनि एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ । दुर्घटनामा परेको वायुयान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ घोडेपानीबाट सम्पर्कमा आएपछि दुर्घटनामा परेको समेत बताएको छ । 

प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत सोमबार विहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा उक्त दुर्घटनास्थल फेला परेको र हाल उद्धारकर्मीहरु दुर्घटनास्थलमा पुगी उद्धार कार्य जारी रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।