काठमाण्डौ। नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एन्ड टुर्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्। 

शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बेष्डर नियुक्तसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

क्याप्टेन विजय लामा ब्रान्ड एम्बेसेडर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ। 

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘विजय लामाजस्तो बहुआयामिक व्यक्तिलाई ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ। एफवान थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’

कार्यक्रममा ब्रान्ड एम्बेसेडर विजय लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘इसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूले प्रुफ गरिसकेको छ र अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा पनि आफूलाई प्रुफ गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु’, उनले भने। 

कार्यक्रममा एफवान सफ्टका सीईओ सुवास शर्मा र इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तर्राष्ट्रिय टिकटिङको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे। 

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्न सुरु गरेको छ। वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत कुनैपनि देशका कुनैपनि गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिन्छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।