काठमाण्डौ । लगानीयोग्य रकमको अभाव(क्रेडिट क्रञ्च)ले कम्पनीहरुको हकप्रद समेत बिक्न छाडेको छ । क्रेडिट क्रञ्चकै कारण हकप्रदबाट तोकिएको पूँजी पुर्याउने कतिपय बैंक तथा बित्तीय संस्थाको प्रयास कठीन बन्दै गएको छ भने सेयर बजारमा समेत लगातार गिरावट आइरहेको छ । कतिपय कम्पनीका सेयरधनी कम्पनीहरुले बोकाएको सेयरको भारीका कारण दोश्रोबजारमा सेयर बिक्री गर्नुपर्ने बाध्यतामा परेका छन् । यसले समेत बजार घटाइरहेको छ । 

पछिल्लो समय लगानीयोग्य पूँजीकै अभावमा कम्पनीहरुको हकप्रद सेयर बिक्री हुन छाडेको छ । यहीकारण दिनहुँजसो कम्पनीहरुले हकप्रद सेयरको लिलामबाट बिक्रीको सूचना धमाधम निकालिरहेका छन् । यही क्रममा सिभिल बैंकले समेत हकप्रद सेयर लिलामीको सूचना निकालेको छ । 

यो बैंकले आगामी फागुन २३ गतेदेखि ३२ लाख ४४ हजार ६००.२५ कित्ता संस्थापक र ९ लाख ९४ हजार ३ सय ५८.५० कित्ता सर्वसाधारण समूहतर्फ बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्ने भएको हो । 

बैंकले मंसिर २२ देखि माघ १२ सम्म १० बराबर ४ को अनुपातमा कुल २ करोड ७ लाख ४० हजार ८ सय ८७ कित्ता हकप्रद निश्कासन गरेको थियो । सोमध्ये २० प्रतिशत भन्दा बढी सेयर भने बिक्री भएन । 

सूचना अनुसार फागुन २३ गतेदेखि खुल्ने लिलामीमा चैत १ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

अक्सनका लागि लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र न्यूनतम मूल्य प्रतिकित्ता १०० राखी आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । लक्ष्मी क्यापिटलको बानेश्वरस्थित मुख्य कार्यालयमा गएर लिलामीका लागि बोलपत्र पेश गर्न सकिने बताइएको छ । 

हाल सिभिल बैंकको चुक्तापूँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सबै हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७ अर्ब २५ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १७१ रुपैयाँ रहेको छ ।