– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यो साता हामीले ब्रोकर हाउसको सट्टा समाजिक सञ्जालमार्फत लगानीकर्ताहरुको विचार समेट्ने प्रयास गरेका छौँ। 

अहिले धेरै लगानीकर्ता घरबाटै टीएमएसमार्फत कारोबार गर्ने भएकोले क्लबहाउसलगायत अन्य सामाजिक सञ्जालका लगानीकर्ताका विचार पनि समेट्ने उद्देश्यले आज हामीले केही फरक रुपमा लगानीकर्ताका विचार समेटेर फरक प्रस्तुति दिने जमर्को गरेका छौँ।

आज बजारको विषयमा सामाजिक सञ्जालमा लगानीकर्ताले बजारको प्राविधिक पक्ष र भोलुमको चर्चा गरेको पाइएको छ। क्लबहाउसमा बोल्दै एक लगानीकर्ताले भने, ‘बजार आज २० दिने मुभिङ एभरेजभन्दा माथि लाग्यो, अब तल झर्दैन।’

कारोबारको मध्य समयमा उनीसँगै बोल्दै अर्को लगानीकर्ताले भने, ‘आज बजार ५ मिनेको चार्टमा मध्य ब्यान्ड माथि लाग्यो, इन्ट्राडेमा बजारले बुल यात्रा  तय गर्यो। बजार नघट्ने देखिन्छ।’

क्लबहाउसमै एक लगानीकर्ताले बढ्दो बजारलाई इंगित गर्दै भने, ‘बजार अब घट्लाजस्तो छैन, अब नून (एसटीसी) खरिद गर्नुपर्छ।’

ती लगानीकर्तालाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘नून त महँगो भयो अब शिवम् सिमेन्ट नै फाँक हाल्नुपर्लाजस्तो छ।’

अर्को क्लबहाउसमा पनि लगानीकर्ताहरु प्राविधिक  विषयमा चर्चा गर्दै थिए। एक लगानीकर्ता आज बजार  बोलिंगर ब्यान्डको मध्य ब्यान्ड माथि गएको बताए। उनले भने, ‘आज ब्रोकरहरुले हिसाब नै मिलाउन फोन गर्दैगर्दा पनि बजार बढेको छ। पक्कै पनि म्युचुअल  फन्डहरुले पनि  किने। अघिल्लो साता बेचेका थिए।’

ती लगानीकर्तालाई कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘अघिल्लोपटक मैले एसियन लाइफ ५०० रुपैयाँमा बेचेर ६५० रुपैयाँमा किनेको थिएँ। बढ्दो बजारमा यस्तै हुन्छ बढेर किन्नुपर्ने।’

क्लाबहाउसमै एक लगानीकर्ताले भने, ‘अब बजारमा होटेल सेक्टरले नै लिड गर्छ। होटेलमा सबै कम्पनी १ हजार रुपैयाँ माथिका हुन्छन्। तारगाउँ रिजेन्सी पनि १५०० रुपैयाँभन्दा माथि जाने बजार हल्ला आफूले सुनेको छु।’ 

क्लबहाउसमा केही लगानीकर्ताहरु माइक्रोफाइनान्समा पनि विस्तारै माहौल आउने तर्क गर्दै थिए। एक लगानीकर्ताले भने, ‘फर्स्ट माइक्रोफाइनान्स मैले एकपटक बेचेर फेरि किनेको छु।’

केही लगानीकर्ताले आजको बजारको बढाइलाई आधार बनाउँदै अन्तिम समयमा भोलुमसहित विस्तारै बढेको र अब बजारले नसोचेको फड्को मार्ने आँकलन पनि गरेका छन्।