– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । बजारको विकास र विस्तारसँगै पछिल्लो समय नेपालको सेयर बजारमा प्राविधिक पक्षको निकै चर्चा सुनिन्छ। 

सेयर बजारमा अहिले विद्यार्थीको पनि राम्रै उपस्थिति पाइन्छ। खासगरी १ हजार रुपैयाँमै आईपीओे भर्न मिल्ने भएपछि खाजा खर्च काटेर पनि प्राथमिक सेयरमा लगानी बढाएको पाइन्छ। 

प्राथमिक बजारबाट छिरेका लगानीकर्ताहरु अहिले प्राविधिक विश्लेषण गर्दै लगानी गर्न थालेका छन्। 

यसै विषयमा क्लब हाउसमा एक लगानीकर्ताले सोधे, ‘यो सिमेट्रकल ट्यांगल भनेको के हो ? के भए बजार बढ्ने र के भय बजार घट्ने हो ?’

ती लगानीकर्तालाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘ब्रेक आउट र ब्रेक डाउन हेर्ने हो। ब्रेक आउट भए नजिकको प्रतिरोध र ब्रेक डाउन भए नजिकै सपोर्ट तह हेर्ने हो।’

हाँसो मजाकमा ती लगानीकर्तालाई जबाफ दिँदै फेरि अर्का एक लगानीकर्ताले भने, ‘खोइ ! नेपाल लाइफको सेयरमा सबै उतानो पल्टे, यो टेक्निकलले पनि बजारमा धेरैलाई डुबायो। मैले त ठूला लगानीकर्ताको क्यान्डल ( कारोबारको अवस्था) हेरेर गर्ने हो।’

क्लब हाउसमै प्राविधिक विश्लेषणको विषयमा चर्चा गर्दै सफल नाम गरेका लगानीकर्ताले भने, ‘मैले पोर्टफोलियोको ४० प्रतिशत सेयरमा प्राविधिक पक्ष हेरेर कारोबार गर्छु। म खासगरी आरएसआई र बोलिंगर ब्यान्ड हेरेर लगानी गर्छु।’

ती लगानीकर्तालाई अर्का एक लगानीकर्ताले सोधे, ‘कुन टुल्स ठीक हुन्छ ?’

जबाफमा सफल नाम गरेका लगानीले भने, ‘तपाइँलाई कुनमा विश्वास लाग्छ, त्यही नै प्रयोग गर्ने हो।’

क्लब हाउसमै बोल्दै एक लगानीकर्ताले सोधे, ‘अब कुन सेक्टरमा लगानी गर्दा ठीक होला ?’

जबाफमा अर्का लगानीकर्ताले भने, ‘हाइड्रो र इन्स्योरेन्समा ठीक होला।’

क्लब हाउसमै बोल्दै लक्ष्मी न्यौपाने नाम गरेका पुरानो लगानीकर्ताले बजारमा धैर्यता अवश्यक रहेको बताए। कालिका लघुवित्तको सेयरको उदाहरण दिँदै उनले भने, ‘बजारमा एकजना साथीले नराम्रो सेयर भनेर ६०० रुपैयाँमा बेचे, पछि बढेर १५०० रुपैयाँसम्म पुग्यो।’

पुराना लगानीकर्ता सूर्यनारायण पौडेलले न्यौपानेलाई समर्थन गर्दै सेयरमा टार्गेट राखेर किनबेच गर्नुपर्ने सुझाव दिए। ‘हल्लाको भरमा लाग्नु हुँदैन’, उनले भने, ‘अहिलेको बजार साइडवेज बजार हो। अहिले सेयर किनेर थप्दै जाँदा राम्रो हुन्छ।’

‘अघिल्लो बुलमा मैले मुक्तिनाथ बैंक ४५० रुपैयाँमा किनेर १६०० रुपैयाँमा बेचेको थिएँ’, उदाहरण दिँदै  पौडेलले भने, ‘चिलिमे पनि २७०० रुपैयाँसम्म पुगेर तल झरेको थियो। त्यसैले बजारमा अनुभव र भोगाइ महत्वपूर्ण हुन्छ।’

अन्डर भ्यालु भउका ब्लुचिप कम्पनीको सेयर उठाउन उपयुक्त हुने पौडेलको भनाइ छ। ‘अहिले मैले पनि प्राविधिक विश्लेषण हेर्न थालेको छु’, उनले भने। 

अरुले कमाएको सुनेर बजारमा आउनेले बढी घाटा खाने पनि पौडेलले बताए। ‘प्रायः बजारमा नयाँ लगानीकर्ता र बजार बढेको अवस्थामा निस्किन नजान्ने लगानीकर्ताले बढी घाटा व्यहोर्छन्’, उनले भने।