– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । अघिल्लो साता ४ दिनमात्र कारोबार भएको सेयर बजारमा यो साता पनि जम्मा ३ दिनमात्रै कारोबार हुनेछ।

आज साताको पहिलो दिन प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिइएको छ। ग्याल्पो ल्होसारका अवसरमा मंगलबार पनि सार्वजनिक बिदा दिइएको छ।  

अघिल्लो साता बिहीबारदेखि सेयर कारोबार हेर्न र गर्न नपाएका लगानीकर्ताहरुले क्लब हाउसमा बजार हेर्न नपाएर पीडा पोखेको पाइएको छ। ‘बरु घटे घटोस्, हामीलाई त बजार हेर्न नपाएपछि केको प्रजातन्त्र र केको लोकतन्त्र ?’, प्रश्न गर्दै क्लब हाउसमा सक्रिय शिव नाम गरेका लगानीकर्ताले भने, ‘नेपालमा बिदा धेरै भयो। सेयर कारोबार गर्न पनि पाइएन।’

शिवले लगभग अब बजार खरिद सिग्नल आएको बताए। 

क्लब हाउसमै सुशीला नाम गरेकी लगानीकर्ताले पनि बजार बन्द भएकोमा दुःख व्यक्त गरिन्। उनले भनिन्, ‘मलाई त २ वर्षदेखि आईपीओ पनि परेको छैन। तर, पनि भर्न छोडिएको छैन।’

‘अहिले त सजिलो छ। आफ्नै मोबाइलबाट आईपीओ भर्न मिल्छ’, सुशीलाले भनिन्, ‘तर, के गर्ने ? मेरा त छोरा–छोरी बाहिर गएका छन्। मलाई मोबाइल तथा कम्प्युटरबाट भर्न आउँदैन। म त क्यापिटलमै गएर फाराम भर्छु। आईपीओ भर्न त छोडिन्न।’

‘मैले त शिवरात्रीको अवसर पारेर शिवश्री हाइड्रोको सेयर किनेकी छु’, सुशीलाले भनिन्, ‘लौ न कसैले यसको प्राविधिक विश्लेषण हेरिदिनुपर्यो।’

क्लब हाउसमै अर्का एक लगानीकर्ताले भने, ‘अब सेयर बजारमा राँके बुल आउँदैछ।’

क्लब हाउसमा एक लगानीकर्ता भने अब नेपाल पुनर्बीमा कम्पनीको सेयरमा चमक आउने दाबी गरे। ती लगानीकर्तालाई बोल्न नपाउँदै अर्का लगानीकर्ताले भने, ‘एचआईडीसीएलको प्रमोटर सेयर पनि अहिले १०० रुपैयाँकै आसपासमा छ। बजारमा बुल आउँदा यो सेयर डब्बल हुन्छ नै।’

हाइड्रोविज्ञ नाम गरेका एक लगानीकर्ताले साञ्जेन जलविद्युत तथा अरुण हाइड्रोमा चमक आउने बताए। ‘बजार चम्किँदा हाइड्रो नै चल्ने हो, यी दुवै कम्पनीको रिपोर्ट अरुको भन्दा राम्रै आएको छ’, ती लगानीकर्ताले भने।

क्लब हाउसमै अर्का लगानीकर्ता भने अब चन्द्रागिरी हिल्सको सेयरमा उछाल आउने तर्क गरे। ‘यो कम्पनीको वित्तीय विवरण पनि राम्रै आएको छ, कम्पनी नाफामा गएको छ’, ती लगानीकर्ताले भने, ‘त्यसैले यो कम्पनीको सेयरमा उछाल आउन सक्छ।’