काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न अभाव हुने स्थिति नरहेको जनाएको छ। 

कम्पनीका प्रशासकीय अधिकृत मोहनप्रकाश चन्दका अनुसार खरिद गरिएको चामलको ट्रकहरु दैनिक रुपमा आइरहँदा गोदाममा सञ्चिति बढ्न पुगेको छ। ‘सोही कारणले खाद्यान्न अभाव हुने स्थिति छैन’, चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा हाल ८१ हजार १०० क्विन्टल खुला बजार प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको परिमाणबाट प्राप्त हुन बाँकी रहेको परिमाणबाट दैनिक रुपमा कम्पनीको गोदामहरुमा आइरहेको जनाइएको छ। ‘असार २८ गते बिडिङ हुने चामलको बोलपत्र तत्काल मूल्यांकन गरी चामल खरिद गर्न सुरु हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

भारतबाट आयात कोटाबाट प्राप्त हुने गहुँ भारतमा लोड भइसकेको जानकारी प्राप्त भएको कम्पनीले जनाएको छ। ‘उक्त गहुँ कम्पनीले वीरगन्जमा जिम्मा लिनेछ’, विज्ञप्तिमा उल्लेख छ, ‘गहुँ प्राप्त हुनासाथ गहुँको सञ्चितिबाट आपूर्ति र वितरण सहज हुनेछ।’