काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ। 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाइ तथा शुभकामना दिँदै उद्योगी–व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको छ। परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको बताए। 

केहीबाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको अग्रवालले बताए। ‘सरकारले विदेशी मुद्रा सञ्चिती बढाउन आयातमा कडाइ गर्यो। सरकारले आयातमा कडाइ गर्दा पनि अटोमोबाइलबाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भइरहेका छन्’, उनले भने, ‘मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्छ।’ 

अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगीहरु हतोत्साही भइरहेको अग्रवालले बताए। यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव उनले दिए। ५० लाख पर्यटक भित्र्याउन र पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा पनि ई–भिसाको अवधारणा ल्याउनुपर्ने उनकोसुझाव छ। 

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको सुझावअन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीहरुको पोसाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ। 

अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इको’ अवधारणा गृहमन्त्रीसमक्ष पनि पेस गरे। परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। 

परिसंघले यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि भेटगरी अर्थतन्त्र सुधारसम्बन्धी परिसंघको सुझाव पेस गरेको थियो। 

उक्त अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योगी–व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताए। ‘व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरुलाई मन्त्रालयमा रातो कार्पेट बिच्छ्याउनेछौँ’, उनले भने, ‘उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौँ। उद्योगी–व्यवसायीहरु राष्ट्रको मेरुदण्ड हुन्। उहाँहरु हल्लिनुभयो भने मुलुकको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौँ भन्नेमा हामी स्पष्ट छौँ। सोहीअनुसार हाम्रो मन्त्रालयले गर्नुपर्ने जिम्मेवारीपूर्ण रुपमा गर्नेछ।’

लामिछानले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिए। ‘मैले स्वदेशी वस्तु मात्रै लगाउने भनेको छु, सुरु पनि गरिसकेको छु। स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको छु’, उनले भने। 

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, परिसंघ जिल्ला तथा प्रदेश समन्व समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाइ तथा शुभकामना दिएका थिए।