काठमाण्डौ । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ आज भदौ १७ गतेदेखि नचल्ने भएको छ। 

सीडीएससी एन्ड क्लियरिङले गत साउन १६ गते एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको थियो। यसका लागि सीडीएससीले डिम्याट खाता नवीकरण गर्न भदौ १५ गतेसम्मको म्याद दिएको थियो। 

सोहीबमोजिम सीडीएससीले आजबाट डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नखुल्ने बनाएको छ। डिम्याट खाता नवीकरण नगरेका सेयरधनीहरुको हकमा ‘मेरो सेयर’ खोल्न खोज्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश देखाउन थालेको छ । 

अब लगानीकर्ताहरुले आफ्नो डिम्याट अकाउन्ट नवीकरण नगरेसम्म मेरो सेयर खुल्ने छै भने आईपीओ, हकप्रदलगायतका साधारण सेयर पनि भर्न पाउने छैनन्।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले डिम्याट नवीकरण नगरेका लगानीकर्ताहरुको ‘मेरो सेयर’ आजबाट नखुल्ने बताए। ‘डिम्याट नवीकरण गरेपछि भने मेरो सेयर खुल्छ’, उनले भने। 

अहिलेसम्म डिम्याट नवीकरण भएकाहरुको संख्या यकिन भइनसकेको पनि न्यौपानेले जानकारी दिए। ‘सबै डीपीबाट कलेक्सन गर्नुपर्ने भएकोले केही समय लाग्ला’, उनले भने।