– सुभानु आचार्य
ललितपुर । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र सेनिटाइजर खोजेको धेरै दिन भयो। उहाँले मास्क र सेनिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो। “खोइ महानगरपालिकाले सेनिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने सुनेको थिएँ। बजारमा खोज्न गएँ न मास्क छ न त सेनिटाइजर। यो त केवल प्रचार मात्र हो कि भन्ने आभास भइरहेको छ”, उहाँले भन्नुभयो।
महानगरपालिका वडा नं १६ निवासी राकेश चित्रकारले पनि बेलाबेलामा खुद्रा पसलमा गई सेनिटाइजर र मास्क खोज्दा पाउन नसकेको दुखेसो गर्नुभयो। उहाँले भन्नुभयो, “प्रचारै ठूलो कुरा रहेछ, बजारमा यी वस्तु पाइन्छ भनेर खोज्दा पाउन सकिएको छैन। टोलटोलमा जनताले पाएको दुःख कसले पो देखेको छ र ? घरमा बालबच्चा छन्। जति खेर पायो त्यति खेर कोठा बाहिर निस्केर आँगनमा खेल्न पुगिहाल्छन्। यदि साबुपनीको साथमा उनीहरुलाई स्यानिटाइनर प्रयोग गरिदिन पाए कोभिड–१९को त्रास हट्ने थियो।” उहाँले भन्नुभयो, “चाहिएको समयमा मास्क र सेनिटाइजरको अभाव भएसँगै लकडाउन खुलेपछि कि त आफँैले बनाउने वा कि खोज्न जाने हुँदा महानगरसँगै भर पर्नु पर्दैन। स्थानीय उत्पादन तीनपाने रक्सीलगायतका कच्चा पदार्थ मिलाएर महानगरपालिकाले सेनिटाइजर बनाउन शुरु गर्दा पनि पाउन नसक्नु दुर्भाग्यको कुरा भएको छ।”
महानगरको वडा नं २१ निवासी ज्ञानलक्ष्मी महर्जनले बजारमा सेनिटाइजरको अभाव भएको सुनेर दैनिक स्प्रिट र साबुपानी प्रयोग गर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “बजारमा न त मास्क छ न त सेनिटाइजर नै। हामीहरु घरबाट बाहिर खाद्यान्न किन्न निस्कँदा कसरी सङ्क्रमणबाट जोगिने होला। महानगरपालिकाले मास्क र सेनिटाइजर बनाएर वितरण गर्ने कुरा टेलिभिजनबाट सुन्दा मुलुक विकासको गतिमा लम्कियो भन्ने खुशी लागेको थियो। यो त प्रचारजस्तो मात्र लागिरहेको छ।” देशमा कोरोनाको सङ्क्रमण बढिरहँदा यस्ता सानातिना चिजको अभाव हुनु गम्भीरे विषय भएको महर्जनको भनाइ थियो।
महानगरपालिकाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म हरेक वडाका दुई गरी ६० महिलालाई मास्क बनाउने तालिम दिएता पनि बजारमा मास्कको माग पूर्ति हुन सकेको देखिँदैन। महानगरपालिकाले मास्कको अलवा यहाँका नागरिकलाई १० जनाको दरले छ दिनसम्म ६० लाई सेनिटाइजर बनाउने तालिमसमेत दियो, तर हाल यसको सेवाग्राहीले परिणाम प्राप्त गरेका छैनन्।
महानगरपालिको समाज कल्याण महाशाखाले केही दिन पहिला बनाइएको लगभग ५०० लिटर सेनिटाइजर प्रत्येक वडाका केही स्थान र महानगरपालिकामा प्रयोग गरिरहेको सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, “मास्क र सेनिटाइजर उत्पादन गर्ने त भन्याँै, तर यसमा प्रयोग हुने सामग्री लकडाउनका कारण लिन जान पाएका छैनौँ। यी सामग्री अभावका कारण आफूहरुले अघि बढाएको योजना सशक्तरूपमा कार्यान्वयन हुन नसकेको कार्की स्वीकार गर्नुभयो।
महानरपालिकाले पाँच–पाँच लिटर सेनिटाइजर प्रत्येक वडामा पठायो तर सर्वसाधारणले भने घरघरबाट यसको सेवा लिन पाएका छैनन्। “हामीले बनाएको सेनिटाइजर र मास्क प्रत्येक वडाका व्यक्तिलाई दिन नसकेकामा लज्जित भइरहेका छौँ।” महानगरपालिकामा कार्यारत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेवले भने मास्क र सेनिटाइजर प्रयोग गरिरहेका कार्कीको भनाइ छ।
स्वास्थ्य शाखामा कार्यारत स्वास्थ्यकर्मीले लगाउने पोशाक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपीइ) र थर्मोमिटर गनको समेत अभाव भइरहेको जनाइएको छ। महानगरपालिकाले १०० एमएल सेनिटाइजरको रु १५० लिने घोषणा गरिरहँदा यहाँ कच्चा सामग्री नै अभाव भइरहेको बताइएको छ। लकडाउन खुलेसँगै सामग्री ल्याएर महानगरवासीको आवश्यकता पूर्ति गरिने कार्कीले जानकारी दिनुभयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago