काठमाण्डौ । तामझामका साथ गठन भएको २ महिना नबित्दै रोहन कार्की नेतृत्वको लगानीकर्ता संगठन फूटेको छ । 

कार्की नेतृत्वको स्वतन्त्र पूँजीबजार सुधार संघका बहुसंख्यक पदाधिकारीहरुको बैठकले संयोजक कार्कीमाथि गम्भीर नैतिक विचलनको आरोप लगाउँदै बर्खास्त गरिएको भन्दै नयाँ कमिटीको नाम सार्वजनिक गरेका हुन् । 

यसरी २ महिनाअघि पूँजीबजारका विकृति अन्त तथा सुधारका लागि भन्दै गठन भएको संगठनका अध्यक्षमाथि नै संगठनको मूल्य मान्यता पालना नगरेको, व्यक्तिगत स्वार्थमा लागेको, गैरजिम्मेवार कार्य गरेको लगायतका आरोप लागेको हो । यी आरोपसहित अध्यक्ष बर्खास्तीमा परेका दाबीसहित विज्ञप्ति आएसँगै पूँजीबजार सुधार संघ गठन भएको २ महिनामै फूटेको हो । 

संयोजक कार्कीले एकपछि अर्को गरी लगानीकर्ताको आशा र भरोसा तुहाउने काम भएको आरोप नवगठित कार्यसमितिले जारी गरेको विज्ञप्तिमा लगाइएको छ । 

पूँजीबजार ध्वस्त पार्न खोज्ने नियमनकारी निकायले एकपछि अर्को गरी प्रतिकूल नीतिहरु ल्याउँदै गर्दा ती नीतिहरुलाई एकदम सही हो भन्ने किसिमको अभिव्यक्ति दिने, संघको मूल्य मान्यतालाई पालना नगर्ने, समितिका अन्य सदस्यहरुलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोज्ने, जिम्मेवार भएर संयोजकको भूमिको नखेल्ने, वर्षौदेखि खोलिएका नाम मात्रका लगानीकर्ताका संघसंगठनसँग मिलेर पुरानै शैली दोहोर्याउन खोज्ने र सामाजिक सञ्जालको सस्तो लोकप्रियतामा रमाउन खोज्नेजस्ता उदासीन र गैरजिम्मेवार गतिविधि देखिएको विज्ञप्तिमा उल्लेख छ । 

सुधार संघका उपाध्यक्ष विनायक शिवाकोटी(आदित्य)को अध्यक्षतामा बसेको पूर्ण बैठकले नाम मात्रका संयोजक रोहन कार्कीलाई समितिमा बहुमत सदस्यहरुको हस्ताक्षरसहित साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ । 

बैठकले सुशीलकुमार लुनियाँलाई सर्वसम्मत अध्यक्ष चुनेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, उपसचिव, सहसचिव, सदस्यहरु क्रमशः विनायक शिवाकोटी, उमेशराज सिलवाल, रामकृष्ण ढकाल, अरुण बियानी, शिरिष आचार्य, रत्नकाजी महर्जन, राजेन्द्र खड्का, ज्यानेन्द्र झा, विमला न्यौपाने, सज्जा भूषाल र वरिष्ठ सल्लाहकारमा उमेशराज पाठक र ओमप्रसाद भट्टराईलाई चयन गरेको छ । 

आरोपी कार्कीले भने आफूमाथि मिथ्या आरोपसहित प्रहार गर्ने काम भएको बताए । निश्चित पात्रहरुको निर्देशनमा गैरकानूनी ढंगले बर्खास्तीको हास्यास्पद निर्णय भएको समेत उनले दाबी गरे । 'म र सचिव तथा अन्य पदाधिकारीहरु समेत सँगै छौं । हामी कसैले बैठक बोलाएको छैन ।' उनले भने-'आधिकारिक रुपमा नडाकिएको बैठकले कसैमाथि कारबाही गर्ने ल्याकत राख्दैन ।' 

उनले आफूलाई बर्खास्त गर्नेहरु केही व्यक्तिको निर्देशन र स्वार्थमा हिँड्ने पात्रहरु भएका र उनीहरु जाँदैमा संगठनलाई कुनै घाटा नहुने दाबी समेत गरे । 'अब त झन् त्यस्ता स्वार्थी पात्रहरु साइड लागेका छन् । हाम्रो संगठन अझै बलियो भएर अगाडि बढ्छ ।' उनले बिजशालासँग भने-'विवादित मानिसहरुको यस्ता गतिविधिले काम गर्ने हामीजस्ताका लागि नयाँ उर्जा र जोश पनि थप्दो रहेछ ।' 

उनले संगठनको लेटरप्याड समेत दुरुपयोग भएको आरोप लगाए ।