काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने गरी ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार मूल्यबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश अर्थात ३ लाख ८१ ३१५.७९ रुपैयाँ गरी कुल ७६ लाख २६ हजार ३१५.७९ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

भर्खरै सार्वजनिक चौथो त्रैमास विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन आजर्न गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०१९.२१ प्रतिशतले बढी हो ।