काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाही निन्दनीय रहेको जनाएको छ। 

मुलुकको अर्थतन्त्रका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आज ललितपुरको होटेल हिमालयमा एक पत्रकार सम्मेलन आयोजना गरी एमालेले यस्तो निष्कर्ष निकालेको हो। आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा एमालेले १२ बुँदे प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेको छ। 

तीन पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाद्वारा जारी संयुक्त विज्ञप्तिमा गभर्नरमाथिको पूर्वाग्रही कारवाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको उल्लेख छ। ‘कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ। अहिले त्यसको पुनरावृत्ति गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो। तर, गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ। तसर्थ, यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारबाही आपत्तिजनक मात्र नभई निन्दनीयसमेत छ।’

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको विज्ञप्तिमा ठहर गरिएको छ। ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहीत स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन’, विज्ञप्तिमा उल्लेख छ। 

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजन भएका दर्जनौं घटनाहरु रहेको विज्ञप्तिमा दाबी गरिएको छ। ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ।’ 

यस्तो छ एमालको विज्ञप्ति–