काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्जाको वालिङ, रुपन्देहीको बुटवल, म्याग्दीको बेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ती स्थानहरुमा भएको रक्तदान कार्यक्रमबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो बार्षिकोत्सवका अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको छ ।

काठमाण्डौको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यो बैंकको हाल काठमाण्डौमा १० वटा शाखासहित देशभर ९० शाखा र ४९ वटा एटीएम सञ्चालनमा छन् ।