– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा अहिले डिम्याट खाताको संख्या झन्डै ४२ लाख पुगेको छ। विगतका दिनहरुमा सेयर बजार ठूला सहरहरुका सीमित मानिसहरुको मात्र पहुँच थियो। तर, इन्टरनेटको पहुँच, हात–हातमा मोबाइल र अनलाइन सेयर कारोबारको सुविधाका कारण सेयर बजारले अहिले ठूलो समुदायलाई ओगट्न सफल भएको छ। 

विद्यार्थी, शिक्षक, बैंकरलगायत अन्य पेसामा आबद्ध व्यक्तिहरुले सेयर बजारमा लगानी गर्दै आएका छन्। त्यतिमात्र होइन अहिले घरको काम समाल्दै सेयर बजारमा लगानी गर्ने गृहिणीको संख्या पनि बाक्लो छ। पछिल्लो समय अनलाइनबाटै कारोबार गर्न सकिने भएकोले गृहिणीको आकर्षण सेयर बजारमा झनै बढेको पाइन्छ। 

पोखराकी मिनु कँडेल विगत ४ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आइरहेकी छन्। ‘घरमा सानो बच्चा भएकाले अन्य पेसामा संलग्न हुन् समयको अभाव भयो। त्यसैले सेयर बजारमा लगानी सुरु गरेँ। अहिले सेयरबाट भएको आम्दानीले बच्चाको खर्च साथै घर खर्च चलाउन पुग्छ’, उनी भन्छिन्, ‘अन्य पेसामा जस्तो सेयर बजारमा लगानी गर्न त्यति गाह्रो छैन। घरको काम बिहान र बेलुका हुन्छ, त्यसैले दिउँसोको समय सजिलै सेयर बजारलाई दिन सकिन्छ।’

कँडेल धेरैजसो लगानी फन्डामेन्टली राम्रा कम्पनीहरुमा गर्छिन्। ‘फन्डामेन्टली राम्रा कम्पनीहरुमा लगानी गर्दा बोनसहरु आउँछ। त्यसैले बियरिस मार्केटमा पनि लगानी गुमाउने डर हुँदैन। तर बेलाबखतमा ट्रेन्ड हेरेर पनि लगानी गर्छु’, उनले भनिन्। नियामक निकायहरुले अनावश्यक विज्ञप्तिहरु ननिकाल्ने, बजारको हितमा राष्ट्र बैंकले पोलिसी बनाउने साथै इन्साइडर ट्रेडिङ नियमन गरेमा बजारमा थप सुधार हुने कँडेलको बुझाइ छ। कँडेल भन्छिन्, ‘राम्रा कम्पनी छनौट गरी लगानी गरेर लगानीकर्तामा धैर्यता हुने हो भने बजारबाट सजिलै कमाउन सकिन्छ।’

चितवनकी श्रद्धा आचार्य पनि झन्डै ३ वर्षदेखि सेयर बजारमा सक्रिय छिन्। ‘एक दिन घरमा आएका आफन्तहरुले सेयर बजारबारे भनेको सुनेँ। त्यसैले जान्ने इच्छा जागेर आयो। युट्युबबाट सेयरबारे बुझेँ। अनि विस्तारै आईपीओ हुँदै दोस्रो बजारमा पनि लगानी सुरु गरे’, उनले भनिन्। 

बजार बढ्दो क्रममा भएकाले सेयर बजारबाट हुने नाफा पनि श्रद्धाले बजारमा नै लगानी गर्ने गरेको बताइन्। कम्पनीले विगतमा दिएको लाभांश साथै ट्रेन्ड हेरेर लगानी गर्ने श्रद्धा भन्छिन्, ‘सेयर बजारमा लगानी गरेर कमाउन त्यति गाह्रो छैन। तर मुख्य कुरा लगानीकर्तामा सेयर बजारप्रति रुचि हुन् अत्यावश्यक छ।’ 

बजारका ठूला खेलाडीहरुले म्यानुपुलेसन गरी बजारमा उत्तरचढाव हुने गरेको उनको बुझाइ छ। उनी भन्छिन्, ‘नियामक निकायहरुले यसको नियमन नगरे भविष्यमा थुप्रै लगानीकर्ताको लगानी डुब्छ।’ 

चितवनमा मन्टेसरी पनि सञ्चालन गरिरहेकी श्रद्धा बजार घट्न साथ आफ्नो गरगहना पनि बेचेर लगानी गर्ने गरेकी छन्। उनी भन्छिन्, ‘लगानीकर्ताले घट्दो बजारलाई त किन्ने मौकाको रुपमा लिनु पर्छ।’ 

काठमाण्डौकी सरोजा सुब्बा लिम्बू झन्डै डेढ वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएकी छन्। सरोजा भन्छिन्, ‘कोरोना कहरले गर्दा आम्दानीको सबै श्रोत ठप्प भयो। फेसबुकमा सेयर ट्रेनिङबारे विज्ञापन देखे। बुझ्दै जाँदा बजारबारे रुचि बढ्दै गयो। त्यसैले डिम्याट, मेरो सेयरको अकाउन्ट खोलेर आईपीओमा आवेदन दिई लगानी यात्रा सुरु गरेँ।’ 

कोरोनाको त्रासका कारण घट्दो बजारबाट लगानी सुरु गरेकी सरोजालाई झन्डै तीन डबल नाफा भयो। ‘अहिले मेरो ध्यान पोर्टफोलियो म्यानेजमेन्टमा केन्द्रित छ। त्यसैले सेयरबाट भएको नाफाले सस्तो तर राम्रो लाभांश दिने कम्पनीहरुमा लगानी गर्ने गरेको छु। यसो गर्नले भविष्यमा राम्रो आर्थिक सुनिश्चितता हुन्छ’, सरोजा भन्छिन्, ‘सुरुका दिनहरुमा सेयरमा लगानी गर्छु भन्दा श्रीमानले पनि त्यति साथ भने दिनुभएन। तर बजारबाट राम्रो आम्दानी भएसँगै अचेल श्रीमानले नै लगानी गर्ने पैसा दिनुहुन्छ। मलाई अचेल अन्य कुराहरुको भन्दा पनि बजारको बढी चिन्ता हुन्छ।’

‘मजस्तै सेयर बजारमा लगानी गर्न चाहनेहरुले बजारका अग्रज साथै युट्युबको मद्दतले कम्पनीबारे सजिलै अध्ययन गरेर लगानी गर्न सक्छन्’, सरोजाले भनिन्। टीएमएसमा सुधार, इन्साइडर गर्नेलाई कारबाही साथै क्लब हाउस, फेसबुकजस्ता सामाजिक सञ्जालमा कम्पनीको विज्ञापन गर्नेहरुलाई नियमन गरे बजारमा धेरै सुधार हुने उनको बुझाइ छ।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव तथा सक्रिय लगानीकर्ता दुर्गा तिवारीका अनुसार विगतको तुलनामा नेपाली सेयर बजारमा महिला लगानीकर्ताहरुको आकर्षण बढ्नुका साथै बुलिस बजार भएकाले धेरै लगानीकर्ताले बजारबाट राम्रो मुनाफा कमाउन पनि सफल भएका छन्। तिवारी भन्छिन्, ‘घरपरिवारको जिम्मेवारी तथा दायित्व महिलाको काँधमा हुने भएकाले तुलनात्मक रुपमा महिलाहरुले समय व्यवस्थापनमा थप संघर्ष गर्नुपर्छ। तर सेयर बजारप्रति रुचि भएका महिलाहरुले बजारमा निरन्तर रुपमा लगानी गरी राम्रो प्रतिफल कमाउन सफल हुनु भएको छ। म आफैँ पनि सेयर बजारमा विगत १५ वर्षदेखि सक्रिय भई लगानी गर्दै आएको छु।’ 

‘अहिले बजारमा प्राविधिक साथै फन्डामेन्टल्ली कम्पनीहरुको अध्ययन गरेर लगानी गर्ने लगानीकर्ताहरु धेरै हुनुहुन्छ। यो नेपाली सेयर बजारको राम्रो पक्ष हो। तर धेरैजसो महिला लगानीकर्ता बजारबाट प्रोफिट बुक गर्न डराउनुहुन्छ’, तिवारी भन्छिन्, ‘मेरो विचारमा ट्रेडिङका लागि खरिद गरिएको सेयरबाट नाफा बुक गर्न साथै स्टप–लस गर्न लगानीकर्ताहरु डराउनुहुँदैन। यसका साथै बजारबाट भएको नाफालाई अन्य क्षेत्रमा लगानी गरेमा जोखिम न्यूनीकरण पनि गर्न सकिन्छ।’ 

बजार बुलिस हुँदा नेपाली सेयर बजारमा धेरै महिला लगानीकर्ताहरु प्रवेश गर्ने गरेको उल्लेख गर्दै तिवारी भनिन्, ‘तर बजार घट्न साथ धेरैले बजारबाट लगानी निकाल्नु हुन्छ। तर सेयर बजारमा अध्ययन गरी राम्रो कम्पनी छनौट गरेर लगानी गर्दा बुलिस साथै बियरिस दुवै बजारबाट राम्रो प्रतिफल कमाउन सकिन्छ।’