काठमाण्डौ । अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९)का सञ्चालक अनन्त पौडेल यसपालिको दसैँ सहरमा नै मनाउने योजनामा रहेका छन्। 

विविध कारणले यसपालिको दसैँ पौडेल काठमाण्डौमा नै आफन्तसँग मनाउने योजनमा रहेका छन्। ओखलढुंगा जन्मथलो भएका पौडेल भन्छन्, ‘तर, दसैँ भन्नेबित्तिकै गाउँ नै सम्झना आउँछ। गाउँमा दसैँको बेला सामाजिक कार्य, भेटघाट र टीका निकै महत्वपूर्ण हुन्छ। हामी गाउँबाट आएको मान्छे, दसैँ त गाउँमै रमाइलो हुन्छ।’

दसैँ बालपनकै रमाइलो हुने पौडेल सम्झिन्छन्। ‘सानोमा हामी दसैँको बेला अभिभावकबाट आशा गथ्र्यौं’, पौडेल भन्छन्, ‘त्यसैगरी अहिले हाम्रा छोराछोरीले पनि दसैँमा आशा गर्छन्।’

केटाकेटीको खुसीका लागि दसैँ महत्वपूर्ण रहेको पौडेल बताउँछन्। उनको बुझाइमा दसैँ उमेरअनुसार फरक–फरक हुन्छ। जिम्मेवारी फेरिँदै जाँदा दसैँ पनि फेरिँदै जाने उनको अनुभव छ। 

दसैँमा पहिले खरको डोरीमा पिङ हाल्ने चलन रहेकोमा अहिले नाइलनको डोरी प्रयोग हुँदै गएको पौडेलले बताए। ‘यसपालिको दसैँ, तिहार र छठको सबैलाई शुभकामना’, उनले भने।