– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार तथा समस्या सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै पुतलीसडकस्थित स्वर्ण लक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३७) मा पुग्यौँ। आज बजार खुलेदेखि नै निरन्तर बढिरहेको थियो। हिमपात, वर्षा अनि बाक्लो हुस्सु र कुहिरोले चिसिएको राजधानीमा आज लागेको न्यानो घाममा ताप्न लगानीकर्ता ब्रोकर हाउसमा भन्दा चियापसलतिर बसेर गफिँदै गरेका भेटिए। ब्रोकर हाउसभित्र भने लगानीकर्ताको उपस्थिति खासै थिएन। चिया पसलमै भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘गएको वर्ष प्राथमिक सेयरबाट पनि राम्रै कमाइयो। दोस्रो बजारबाट पनि राम्रै भयो।’
चिया पसलमै भेटिएका एक परिचित लगानीकर्ताले आज बजारमा भोलुम खासै नआएको भन्दै बजार बढेकोमा शंका व्यक्त गर्दै थिए।
केही समयको बसाइपछि हामी अनामनगरस्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२) पुग्यौँ। यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार निरन्तर बढिरहेको थियो। यो ब्रोकरमा भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही लगानीकर्ता मोबाइलबाटै कारोबार गर्नमा व्यस्त थिए भने केही ब्रोकर हाउसभित्रै पारिलो घाम ताप्न मस्त देखिन्थे। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘हेर बिहानै नबिल बैंक किनेको भए हुने रहेछ।’
उनीसँगै बसेका अर्का लगानीकर्ताले भन्दै थिए, ‘एनआईसी एसिया पनि अब बढ्न सक्छ।’
त्यत्तिकैमा एक महिला लगानीकर्ता नमस्कार भन्दै फ्लोरमा आइन्। नमस्कार फर्काउँदै एक पुरुष लगानीकर्ताले सोधे, ‘धेरै दिनपछि पो आउनु भयो, कत्तिको कमाउनुभयो ?’
ती महिला लगानीकर्ताले उनको प्रश्न नसकिँदै भनिन्, ‘मैले त राधीमा राम्रै कमाएँ, ३०० देखि किन्न थालेको १३०० तिर बेचेँ।’
अर्का एक पुरुष लगानीकर्ताले सोधे, ‘केही थाहा पाएर हो किनेको ?’
ती महिला लगानीकर्ताले जबाफ दिइन्, ‘हो नि ! त्यत्तिकै त कहाँ किन्नु ?’
केही सयमको बसाइपछि हामी अनामनगरकै भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) पुग्यौँ। यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। लगानीकर्ताहरु त्यहाँ पनि घाम तप्दै बजार हेर्नमै मस्त थिए भने ब्रोकर सञ्चालक कारोबारमा व्यस्त देखिन्थे। त्यहाँ पनि लगानीकर्ताहरु नबिल बैंककै चर्चा गर्दै थिए। ‘आज नबिल बैंक किनेको भए हुने रहेछ बिहानै’, एक लगानीकर्ताले भने।
त्यहाँबाट हामी अनामनगरमै रहेको आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) पुग्यौँ। त्यहाँ भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘अब तरलता पनि सहज हुँदैछ, फेरि माघ महिनाबाट सेयर धितो कर्जा सहज हुन सक्छ। यही आशाले आजबाट पर्ख र हेरको अवस्थामा बसेका ठूला लगानीकर्ता बजार पसेका हुन् सक्छन्। अब बजार माथि नै जाने हो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago