काठमाण्डौ । भारतले चीनबाट मगाउन लागेको थप ५ लाख र्यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ।
भारतले यसअघि मगाएको र्यापिड टेस्टिङ किट प्रयोग गर्दा सही साबित नभएपछि थप टेस्टिङ किटको अर्डर रद्द गरेको हो। यसअघि चीनबाट मगाएर विभिन्न राज्यमा पठाएको टेस्टिङ किट पनि केन्द्र सरकारले फिर्ता मगाएको छ। यी किट्स संक्रमित मानिसको रगतमा एन्टीबडी पत्ता लगाउन प्रयोग गरिन्छन्।
टेस्टिङ किटबाट एन्टीबडी पत्ता लगाउन करिब ३० मिनेट लाग्छ। यसबाट स्वास्थ्य अधिकारीहरुलाई कुनै खास इलाकामा कोरोना संक्रमणको प्रसार पत्ता लगाउन सहज हुन्छ।
त्यसो त र्यापिड टेस्टिङ किटबाट कोरोनाभाइरसको टेस्ट हुन सक्दैन र यसको प्रयोगमा थुप्रै वैज्ञानिकहरुले प्रश्न पनि उठाइरहेका छन्।
भारतका केही राज्यले र्यापिड टेस्टिङ किटको प्रयोगपछि यससबाट निस्किने नतिजामा विश्वसनीयता केवल ५ प्रतिशतमात्र रहेको गुनासो गरेको थियो। ती राज्यका अनुसार यी किट्सबाट पहिला सामान्य कोरोना संक्रमितको टेस्ट गरिएकोमा उनीहरुमा नतिजा नेगेटिभ निस्कियो।
त्यसपछि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले क्वालिटी चेक गर्दा यी टेस्टिङ किट्स गुणस्तरहीन साबित भएको बताइएको छ। हिजो सोमबार दिल्ली हाईकोर्टले भारतले टेस्टिङ किट्सलाई बढी मूल्य तिरिरहेको निर्णय गरेको थियो।
उता चीनले टेस्टिङ किट अर्डर भारतले रद्द गरेकोमा अनुचित भएको जनाएको छ। भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जे रोङले मंगलबार आफ्नो वक्तव्यमा भनेका छन्, ‘चीनबाट निर्यात गरिएका चिकित्सकीय उत्पादनमा गुणस्तरको प्राथमिकता दिइन्छ। केही व्यक्तिद्वारा चिनियाँ उत्पादनमा दोष देखाउनु अनुचित र पूर्वाग्रहको दृष्टिले हेर्नु गैरजिम्मेवार व्यवहार हो।’ – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19