काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्थाले निश्कासन गरेको आइपीओमा बिहीबार साँझ ६ बजेसम्म १९.४६ गुणा बढी आवेदन परेको छ। 

यो कम्पनीले निश्कासन गरेको आइपीओमा साँझ ६ बजेसम्म २ लाख ४२ हजार ६३३ आवेदकबाट ४५ लाख ४८ हजार ६० कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो भनेको मागको तुलनामा १९.४६ गुणाले बढी हो । 

गुराँस लघुवित्तले रु. १०० अंकित दरका कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गरेको हो ।

आइपीओमा छिटोमा बैशाख २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कुल निश्कासित कित्तामध्ये कम्पनीका कर्मचारीका लागि ३ हजार ८७५ कित्ता, म्युचुअल फण्डहरुका लागि १२ हजार ५०० कित्ता र २ लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै गत पुस १० गते धितोपत्र बोर्डमा आवेदन दिएकोमा साढे ३ महिनापछि निश्कासनको स्वीकृति पाएको थियो ।

सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरिरहेको छ । 

रु. ३ करोडभन्दा कमको आइपीओका लागि क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा छ । 

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.७ करोड ७५ लाख र चुक्तापूँजी रु.५ करोड २५ लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.७ करोड ७५ लाख हुनेछ । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ साल जेष्ठ २ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवार शुुभारम्भ गरेको हो ।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्लाभित्र २२ वटा शाखा कार्यालयमार्फत ११,००० बढी विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्ध गरिसकेको छ ।