काठमाण्डौ । बीमा समितिको स्वीकृतिबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गत जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ। 

तालिममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेमराज पाण्डे र सुदीप पौडेलले प्रशिक्षण दिएका थिए। तालिममा २३ जना क्षति मूल्यांकनकर्ताको सहभागिता थियो। कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए। 

यसैगरी अजोड इन्स्योरेन्सको आयोजनामा गत जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाउँपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घुम्ती बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८ लाख ८१ हजार ७५० संकलन गरिएको थियो। 

इश्मा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष शेरबहादुर कुँवरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए। अजोड इन्स्योरेन्सको प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेल र मानव संसाधन तथा प्रशासन प्रमुख प्रेमराज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताका बारेमा प्रस्ट पारेका थिए। 

कार्यक्रममा वडाका वडा सदस्यहरु तथा स्थानीय कृषकको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा अजोड इन्स्योरेन्सका अन्य कर्मचारीको सहभागिता थियो।