काठमाण्डौ । अब सुरक्षा अधिकारीहरुले दलका नेता र राजदूतहरुसँग भेट्न गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भएको छ। 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विभागीय स्वीकृति लिएरमात्रै कूटनीतिक नियोग र राजनीतिक नेतृत्वहरुसँग भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो। 

‘शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सुरक्षाकर्मी पदाधिकारीहरुले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नेपर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएरमात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ।’

विज्ञप्तिमा यो निर्देशनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने पनि स्पष्ट पारिएको छ।